कर्णाली प्रदेश

कर्णाली प्रज्ञा–प्रतिष्ठान गठनसम्बन्धमा विज्ञहरूसँग छलफल

९ भदौ, काठमाडौँ । कर्णाली प्रदेशमा प्रज्ञा–प्रतिष्ठान स्थापनाका लागि सुझाव सङ्कलन गरिएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले नेपाल प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा आज यहाँ छलफल
कार्यक्रम आयोजना गरी कर्णाली प्रदेश सांस्कृतिक नीति र प्रज्ञा–प्रतिष्ठान गठनका सम्बन्धमा विज्ञसँग सुझाव माग गरेको हो ।

प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कर्णाली प्रज्ञा–प्रतिष्ठानको महत्व दर्शाउँदै प्रतिष्ठान गठन प्रक्रिया र सांस्कृतिक नीतिबारे विज्ञहरूसँग सुझाव माग गरे । उनले संवैधानिक अधिकार प्राप्त भए पनि प्रदेशमा प्रतिष्ठान गठनले अझै पूर्णता पाउन नसकेको भन्दै यही कार्यकालमा प्रतिष्ठान स्थापना गर्ने र कर्णालीका संस्कृति संरक्षणमा जनसहभागिता बढाउने उद्देश्य रहेको बताए । “खस भाषाको उद्गमस्थल कर्णाली प्रदेशको मौलिकता हराउँदै गएको छ । पुरातात्विक महत्वका सम्पदा, कला संस्कृति र यहाँको जनजीवन जीवन्त राख्न प्रतिष्ठान महत्वपूर्ण छ”, मन्त्री भण्डारीले भने, “यस स्थापना गरिने प्रतिष्ठानको संरचना कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे विज्ञहरूका सुझाव लिएर अघि बढ्नेछु ।”

उनले विज्ञहरूमाझ ‘कर्णाली प्रज्ञा–प्रतिष्ठान स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृतिका लागि तयार पारिएको अवधारणा पत्र’ प्रस्तुत गरेका थिए ।