राजनीति

लोसपाको तेस्रो स्थापना दिवसमा झण्डोत्तोलन

९ भदौ, काठमाडौँ । बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा अध्यक्ष महन्थ ठाकुरले पार्टीको झण्डोत्तोलन गर्दै पार्टी सङ्गठन देशभर सुदृढीकरण गरी सदस्यता विस्तारका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

मुलुकमा विद्यमान सबै प्रकारका विभेदको अन्त्य गरी सामाजिक न्याय, समानता कायम गर्नुपर्ने लाग्नुपर्ने आवश्यकता औँल्याउदै उनले देशको आर्थिक विकास तथा जनताको समृद्धिका लागि स्वदेशी उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष ठाकुरले जनताको लामो सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्दै संविधान संशोधनका माध्यमबाट जनताको थप अधिकार स्थापित गरी सामाजिक तथा आर्थिक रुपान्तरण गर्नुपर्ने विचार व्यक्त गरे ।“मुलुकलाई गरिबीको दुष्चक्रबाट मुक्त गर्न भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गरी कृषि क्षेत्रको विकास गर्ने खाँचो छ”, उनले भने।

कार्यक्रममा सहिदको तस्बिरमा माल्यार्पणसमेत गरिएको थियो । कार्यक्रममा पार्टी प्रवक्ता आभास लाभले पार्टीलाई थप सशक्त बनाउन छिट्टै महाधिवेशन गर्न लागिएको जानकारी दिए ।