११ भदौ, काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर सुडीले गणतन्त्र स्थापना भएपछि महिला सशक्तीकरणका क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताएका छन् । नेपाल शैक्षिक परामर्श सङ्घ इक्यानले वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजना गरेको दोस्रो महिला नेतृत्व कन्क्लेभमा उनले गणतन्त्र स्थापनापछि महिलाको सहभागिता र सशक्तीकरणमा उल्लेख्य उपलब्धि हासिल भएको बताए ।
उनले गणतन्त्रपछि नै स्थानीय तहमा महिलाको प्रतिनिधित्व ४० प्रतिशत सम्भव भएको उल्लेख गरे । “संविधानमार्फत हामीले महिलाका लागि ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरेका छौँ, तर त्यो पर्याप्त छैन, आजका दिनसम्म जेजति उपलब्धि हासिल भएका छन् । त्यसलाई संस्थागत गर्दै ५० प्रतिशत सहभागिता बढाउनु आवश्यक छ”, उनले भने।
पछिल्लो समय दूरदराजमा महिलामा पछिल्लो समय जागरुकता बढेको र त्यसलाई थप प्रोत्साहन गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिए । मन्त्री सुडीले आफूलाई मतदान गर्ने कूल मतदातामध्ये ५६ प्रतिशत महिला रहेको उल्लेख गर्दै भने, “मलाई महिलाले विजयी बनाउने र उनीहरुको हकहितका लागि काम नगर्ने भन्ने हुँदैन, यो मेरो जिम्मेवारी पनि हो । म सरकारको प्रतिनिधिका हैसियतमा महिलाको अर्थपूर्ण सहमगिता बढाउनका लागि पहल गर्ने प्रतिबद्धता जनाउँछु ।”
आफू पाँच वर्ष प्रदेशमा मन्त्री रहँदा प्रदेश लोकसेवा आयोगको परीक्षामा ५० प्रतिशत कोटा महिलाका लागि छुट्याइनुपर्ने विषयमा कानुन निर्माण गरेको उनले स्मरण गरे । मन्त्री सुडीले आगामी असोज ६ गतेसम्म देशभरमा विभिन्न क्षेत्रमा क्रियाशील एक हजार महिलालाई राजधानी काठमाडौँमा जम्मा गरेर नेतृत्व विकास र संविधान तथा कानुनबारे जानकारी दिनेगरी मन्त्रालयले तयारी गरिरहेको जानकारी गराए ।
कार्यक्रममा इक्यानका अध्यक्ष शेषराज भट्टराईले महिलाको उपस्थितिले कुनै पनि क्षेत्रलाई बलियो बनाउनसक्ने विषय शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील महिलाले प्रमाणित गरेको बताए। उनले भने, “महिला र पुरुष सबै उत्तिकै क्षमतावान् छौँ, अवसर प्राप्त भएका बखतमा विभिन्न क्षेत्रमा महिलालाई आफूलाई प्रमाणित गरिसक्नुभएको छ, इक्यानको यो कार्यक्रम यही यथार्थलाई थप प्रमाणित गर्नु हो ।”
उनले कुनै पनि क्षेत्रमा महिलाको सहभागिता मात्रै नभई अर्थपूर्ण सहभागिताले मात्रै वास्तविक प्रतिनिधित्व हुने उल्लेख गर्दै राज्यका नीति निर्माणका तहमा पनि उनीहरुको उपस्थिति बलियो हुनुपर्छ भन्ने इक्यानको मत रहेको बताए । उनले महिलाको उपस्थितिले व्यवसायलाई थप बलियो बनाउनेमा आफू विश्वस्त रहेकोसमेत उल्लेख गरे ।





