१२ भदौ, सिरहा । सिरहाको कर्जन्हा नगरपालिका–१ स्थित बाल्टियामा रु एक करोड ६४ लाख ६८ हजार लागतमा नन्दबाबा खानेपानी आयोजना निर्माण भएको छ । आयोजना सम्पन्न भएसँगै वडा नं १ का छ सय १९ परिवारमा शुद्ध खानेपानीको पहुँच विस्तार भएको हो ।
कर्जन्हा नगरपालिकासँगको सहकार्यमा सबल नेपालद्वारा सञ्चालित ‘सामाजिक परिवर्तनका लागि खानेपानी, सरसफाइ तथा स्वच्छता सुशासन सबलीकरण परियोजना’ अन्तर्गत सम्पन्न भएको खानेपानी आयोजना एक कार्यक्रमको आयोजना गरी खानेपानी उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ ।
विसं २०७६ फागुन २० गतेदेखि उक्त खानेपानी आयोजना प्रारम्भ भएको थियो । सबल नेपालको ७० लाख पाँच हजार नौ सय ५५, नगरपालिकाको ९० लाख ७४ हजार तीन सय ७३ तथा लक्षित समुदायले तीन लाख ८८ हजार चार सय ८५ खर्च व्यहोरेका सबल नेपालका पालिका संयोजक रोजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार खानेपानी वितरण गर्न कूल एक लाख ५० हजार लिटर पानी भण्डारण क्षमता रहेको ‘ओभरहेड’ ट्याङ्की रहेको छ ।
उक्त ट्याङ्कीमा स्वचालित रुपमा पानी शुद्धीकरणका उपकरणसमेत जडान गरिएको छ । दुई सय ४० फिटको डिप बोरिङ गाडिएको छभने १० एचपी क्षमताको सम्बरसिवल पम्प जडान गरिएको सबल नेपालका कोषाध्यक्ष आयुश श्रेष्ठले जानकारी दिए । खानेपानीका इनार र कुवाहरु सुक्दै जान थालेपछि उक्त आयोजनाको पहल गरिएको वडा नं १ का वडाध्यक्ष फणिन्द्र पोखरेलले बताए । “जलवायु परिवर्तनसँगै चुरे क्षेत्रका गाउँहरुमा पानीको सतह सुक्न थाल्यो । ट्युवेल र इनारहरु सुक्न थाले । गाउँमा खानेपानीको हाहाकार हुन थालेपछि यो आयोजनाको पहल गरिएको हो”, उनले भने, “यसमा सबल नेपाल र नगरपालिकाले पनि चासोका साथ सहयोग गरेकाले समयमै निर्माण सम्पन्न भएको छ ।”
घरमा नियमित खानेपानी आउन थालेपछि स्थानीय पनि खुसी भएका छन् । “हाते कल सुकेको वर्षौं भइसकेको थियो । इनार तथा कुवाका पानी पनि सुक्न थालेपछि पानीको हाहाकार हुन थालेको थियो । पछिल्लो समय हामीसँग बसाइँ सर्नुको विकल्प थिएन । आज यसरी घरघरका धारामा पानी आउन थालेपछि हर्षित भएका छौँ”, स्थानीय ६० वर्षीय शारदा कार्कीले भने ।
खानेपानीको दिगोपनाका लागि प्रत्येक परिवारबाट न्यूनतम १० युनिट प्रयोग गरेबापत रु ८० महसुल सङ्कलन गर्ने गरिएको भन्दै थप प्रतियुनिट र छ महसुल निर्धारण गरिएको नन्दबाबा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए ।