१२ भदौ, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले हैजा प्रभावित क्षेत्रहरूको द्रुत सूचना, जनचेतना अभिवृद्धिलगायतका कार्य प्रभावकारी बनाउन तीनै तहका सरकारसँग समन्वय भइरहेको बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा सांसद डा तोसिमा कार्कीले ‘हैजा महामारीका कारण निम्तिनसक्ने स्वास्थ्य सङ्कटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउनुपर्ने’, भन्ने सार्वजनिक महत्त्वको विषयमाथि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
उक्त विषयमा मन्त्री पौडेलले ध्यानाकर्षण भएको जनाउँदै हैजा नियन्त्रण तथा रोकथामका लागि मन्त्रालयले गरिरहेका काम र आगामी योजनाकाबारे जानकारी दिए । उनले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रदेश र स्थानीय तहसँग सहकार्य र समन्वयमा हैजा प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य टोली परिचालन गरेको बताए ।
उक्त टोलीले नियमित ‘केस’ अनुसन्धान, बिरामीको खोजी र बिरामीको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिमा लक्षणको निगरानी गरिरहेको बताउँदै मन्त्री पौडेलले पहिलो पटक सातवटै प्रदेशका मन्त्रीहरूबीच हैजा, डेङ्गीलगायत जनस्वास्थ्यका चुनौतीलाई सामना गर्न सामूहिक र समन्वयात्मक प्रयास गर्ने निर्णय गरेको सदनलाई जानकारी गराए ।
“काठमाडौँ उपत्यकाका स्थानीय सरकार प्रमुखहरूसँग हैजा, डेङ्गीलगायतका महामारीजन्य अवस्थाको व्यवस्थापन कसरी प्रभावकारी बनाउने भनेर अन्तक्र्रिया तथा ठोस कदमहरू चाल्नका लागि कार्य गरिएको छ”, मन्त्री पौडेलले भने । उनले वर्षायाममा देशभर हैजाको जोखिम रहे पनि नयाँ बिरामी नभएको तथा उपचाररत चार जना मात्र रहेको सदनलाई जानकारी दिए ।





