१७ भदौँ, काठमाडौँ । युवाकवि मोतीराम भट्टको १५९औँ जयन्ती आज काठमाडौँमा विविध कार्यक्रम गरी मनाइएको छ । काठमाडौँको सोह्रखुट्टेमा समस्यापूर्ति कवि सम्मेलन, सम्मान तथा एक वर्षभित्र दिवंगत भएका कविहरुलाई सम्झिएर आज मोती जयन्ती मनाइएको हो ।
नेपाली शिक्षा परिषद् र लेखनाथ साहित्य सदनको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि प्राडा माधवप्रसाद पोखरेलले युवाकवि भट्टले नेपाली साहित्यको विकासमा अतुलनीय योगदान पुयाएको बताए । उनले ७० वर्षसम्म संस्थाले नियमित कार्यक्रम राखेर मोतीरामलगायत अन्य कविहरुलाई सम्झिँदै आएको बताए ।
नेपाली शिक्षा परिषद्की अध्यक्ष रमा शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा परिषद्का सदस्य सचिव एवं राष्ट्रिय युवा सेवा कोषका कोषाध्यक्ष लक्ष्मण थापाले मोतीराम भट्टले ३० वर्षको अल्पआयुमै नेपाली साहित्यको भन्डारलाई उच्च स्थानमा पुयाएको उल्लेख गरे ।
भानुभक्तलाई चिनाउन मोतीरामको अहम भूमिका रहेको उनको भनाइ थियो । उहाँले परिषद्ले विसं २०१० देखि भानुजयन्ती मनाउन थालेएको र सोही वर्षको कुशेऔँसीदेखि मोतीजयन्ती मनाउन थालिएको जानकारी दिए ।
कार्यक्रममा साहित्यकार ज्ञाननिष्ठ ज्ञवालीले ७० वर्षदेखि निरन्तर सदनले यसरी कवि भट्टको सम्मान गरेकोमा प्रशंसा गरे । उनले भने, “मोतीराम भट्टले आफू मात्र नभएर मोती मण्डलीलाई अगाडि बढाउनुभएको थियो । भानुभक्तको जीवनचरित्र लेखेर चिनाउने काम उनले गरे, उनलाई नेपाली साहित्यले कहिल्यै विर्सन सक्दैन ।”
उनले एक वर्षभित्र दिवंगत भएका कविहरुलाई सम्झेर उनीहरुको पनि सँगसँगै जयन्ती मनाउने परम्परा महत्वपूर्ण रहेको उल्लेख गरे । सो क्रममा उनले एक वर्षभित्र दिवंगत भएका व्यक्तित्वहरुबारे जानकारी दिएका थिए ।
सोही कार्यक्रममा युवा वर्ष मोती पुरस्कारबाट साहित्यकार तथा कलाकार केदार श्रेष्ठ सम्मानित भएको छ । उनलाई रु ४० हजार राशीसहित सम्मान गरिएको हो । कार्यक्रममा कविहरुले गजलवाचन समेत गरेका थिए ।
विसं १९२३ भाद्र कृष्ण कुशेऔँसीका दिन जन्मिनुएका भट्टको विसं १९५३ भाद्र कृष्ण कुशेऔँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो । भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुयाएको थिए । भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउएका थिए ।