राजनीति

महङ्गी नियन्त्रण, भ्रष्टाचारको अन्त्य र मुलुकमा सुशासनका लागि निरन्तररूपमा खबरदारीः अध्यक्ष यादव

१८ भदौ, मोरङ । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रको विशेषता सङ्घीयता र समावेशीता भएको बताएका छन् ।

पार्टीको कोशी प्रदेश कमिटीद्वारा आज यहाँ आयोजित अभियन्ता अभिमूखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले नेपालको संविधानमा रहेको समावेशी, समानुपातिक र सङ्घीयतालाई संस्थागत गर्नु पार्टीको मुख्य जिम्मेवारी भएको बताए ।

अध्यक्ष यादवले भने, “राज्यद्वारा प्रदान गरिने अवसरमा सबै जनताको पहुँच पुर्‍याउनु पार्टी अभियानको मुख्य कार्यभार हो ।” उनले मुलुकमा देखिको महङ्गी नियन्त्रण, भ्रष्टाचारको अन्त्य र मुलुकमा सुशासन कायम गर्ने पार्टी निरन्तररूपमा खबरदारी गर्ने बताए ।

पार्टीका सहअध्यक्ष रकम चेम्जोङ्गले ठूला दुई दलका कारण मुलुकमा राजनैतिक अस्थिरता कायम भएको आरोप लगाए । पार्टीका केन्द्र महासचिव रामकुमार शर्माले पिछडिएका क्षेत्रमा वसोवास गर्ने जनताको राज्यको नीति निर्माण पहुँच पुर्‍याउने कार्यमा लाग्नुपर्ने बताए ।

पार्टीका उपमहासचिव रेखा यादव, केन्द्रीय कार्यकारणी सदस्य जयराम यादव, केन्द्रीय सदस्य सञ्जय सिंह, जिल्ला अध्यक्ष राजकुमार यादवले संविधानमा रहेको समानुपातिक र समावेशीका सम्बन्धमा कुनै सम्झौता नहुने दृढता व्यक्त गरे ।अभिमुखीकरणमा कार्यक्रममा प्रदेशका आठ जिल्लाका अगुवा कार्यकर्ताको उपस्थिति रहेको थियो ।