२१ भदौ, गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तिजको सांस्कृतिक महत्त्वको जगेर्नामा मद्दत पुुग्नेगरी पर्व मनाउनुुपर्नेमा जोड दिएका छन् ।
नेपाली महिलाहरूको महान् पर्व हरितालिका तिजका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले पछिल्लो समय चाडपर्वका नाममा देखिने गरेको भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै धार्मिक, सांस्कृतिक महत्वमा केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याए ।
“समाजलाई भावनात्मक एकताको सूत्रमा बाँध्ने, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्ने, सामाजिक, धार्मिक परम्परालाई दिगो बनाउने गरी तिज मनाउन प्रदेश सरकारको तर्फबाट अपिल गर्दछु”, उनको सन्देशमा भनिएको छ ।
हरितालिका तिज एक सनातन सांस्कृतिक पर्वका रुपमा नेपाली महिलाले मनाउँदै आएको भन्दै मुख्यमन्त्री पाण्डेले “यस पर्वमा महिलाले भगवान् शिव–पार्वतीको पूजा आराधना गर्दै परिवारको सुख, स्वास्थ्य र दीर्घायुको कामनासहित उपवास बस्नाले मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ”, भनेका छन् ।
हरितालिका तिजले समाजमा विद्यमान विभेद र सबै प्रकारका असमानताको अन्त्य गर्दै समतामूलक समाजको निर्माणमा सबैलाई प्रेरित गर्न सकोस् भन्ने मुख्यमन्त्रीले कामना गरेका छन् ।