२३ भदौ, बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले छाडा चौपाया व्यवस्थापन गर्न सुरु गरेको छ । रत्न राजमार्गको कोहलपुर नेपालगञ्ज खण्डमा छाडा चौपायाका कारण सडक दुर्घटना बढ्न थालेपछि प्रत्येक शनिबार स्थानीय प्रशासनको सहयोगमा व्यवस्थापन सुरु गरेको हो ।
उपमहानगरपालिका–२१ स्थित बिर्तामा निमार्ण गरिएको गौशाला काञ्जी हाउसमा छाडा पशुचौपायालाई व्यवस्थापन गर्ने गरिएको छ । रु ३५ लाखको लगानीमा निर्माण गरिएको गौशालामा गाईगोरु र घोडासहित एक सय २६ चौपाया रहेका उपमहानगर प्रमुख प्रशान्त विष्टले जानकारी दिए ।
“पशु अधिकारको रक्षा गर्दै छाडा चौपायालाई काञ्जी हाउसमा राख्नेगरी व्यवस्था मिलाएका छौँ”, उनले भने, “छाडा चौपायालाई सुरक्षित रूपमा राख्नाका साथै उचित दानापानीको व्यवस्थापन पनि नगरपालिकाले गरिरहेको छ ।” सडकमा छाडा छोडिएका पशुलाई नियन्त्रण लिन र स्याहार–सुसार गर्नका लागि चारजना कर्मचारीको व्यवस्थापन गरिएको नगर प्रमुख विष्टले जानकारी दिए ।
तीन बिगाहा क्षेत्रफलमा निर्माण गरिएको गौशालामा राखिएका चौपायाका लागि नगरपालिकाले आफ्नै जग्गामा घाँसखेती पनि गर्दै आएको गौशालाका इन्चार्ज राकेश भारतीले बताए । विगत पाँच वर्षदेखि गौशालाको रेखदेख गर्ने जिम्मेवारी सम्हाल्दै आउनुभएका भारतीले वस्तुभाउलाई खुवाउनका लागि मौसम सुहाउँदो घाँसखेती गर्ने गरिएको जानकारी दिए । “घाँसखेतीका लागि मात्रै झन्डै अढाई बिगाहा जमिनको प्रयोग गरिएको छ । हिउँदमा बिहान–बेलुका गाईवस्तुलाई चराएर दिनमा एकपटक मात्र दानापानी दिने गरिन्छ भने वर्षाको समयमा बिहान र बेलुका गरी दुईपटक दानापानी दिने गरिएको छ”, उनले भने, “दिनभरि चरनका लागि सडकमा छाडिएका वस्तुलाई नगरपालिकाले नियन्त्रणमा लिएर गौशालामा राख्ने गरेको छ । पछि सम्बन्धित धनीले गाईको एक हजार पाँच सय, घोडाको पाँच हजार र घोडाको बच्चाको रु दुई हजार जरिवाना तिर्नुपर्ने व्यवस्था गरिएको छ ।”
छाडा पशुचौपायाका कारण पछिल्लो समयमा बाँकेमा सडक दुर्घटनाहरु बढ्दै गइरहेका छन् । समस्या जटिल हुँदै गएपछि उपमहानगरपालिकाले राप्तीसोनारी गाउँपालिकासँगको सहकार्यमा छाडा चौपाया व्यवस्थापनको योजना तय गरेको जनाइएको छ । “यसबाहेक राप्तीसोनारी गाउँपालिकामा पनि छाडा चौपायाले दुःख दिन थालेको खबर प्राप्त भएपछि व्यवस्थापनका लागि पहल हुँदा प्रदेश र सङ्घीय सरकारबाट काञ्जी हाउस निर्माणका लागि आर्थिक सहयोगको प्रतिबद्धता आएको छ”, उपमहानगर प्रमुख विष्टले भने, “आर्थिक सहयोग प्राप्त हुनासाथ राप्तीसोनारी गाउँपालिकामा पनि गौशाला निमार्ण गरिने छ ।’
बाँकेमा छाडा पशुचौपायाका कारण गत आर्थिक वर्ष ०८०-८१ मा १९ वटा दुर्घटना भएका छन् । जसमध्ये एक पुरुषको मृत्यु भएको छभने दुई पुरुष र एक महिला गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । सोही अवधिमा १३ चौपायाको सडक दुर्घटनामा परी मृत्यु भएको छभने चार चौपाया घाइते भएका जिल्ला ट्राफिक कार्यालय बाँकेको तथ्याङ्कमा उल्लेख छ । ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीका अनुसार चालु आर्थिक वर्ष ०८१-८२ को हालसम्म छाडा चौपायाका कारण एक पुरुष गम्भीर घाइते भएका छन् ।