२३ भदौ, पाटन (ललितपुर)। नेपालका लागि भारतीय पूर्वराजदूत रणजीत रेले नेपालले लागत कम गर्नेगरी विद्युत् परियोजना बनाउन सक्नुपर्ने बताए।
नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एन्ड इन्गेजमेन्टले आज ललितपुरमा आयोजना गरेको ‘हिमालयन पानीको उपयोगः भारत र नेपालबीच जलविद्युत् सहयोग’ विषयक छलफलमा धारणा राख्दै पूर्वराजदूत रेले लागत कम हुँदा नेपालले भारतलगायत अन्तर्राष्ट्रियस्तरमा सहजै विद्युत् बिक्री गर्नसक्ने हुँदा अधिक फाइदा उठाउन सक्छ भने ।
“पञ्चेश्वरलगायतका परियोजना निर्माण हुन ढिला हुँदा नेपालले लाभ हासिल गर्न सकिरहेको छैन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका यस्ता ठूला परियोजना समयमै सम्पन्न गर्न सक्दा नेपालले उचित फाइदा लिन सक्छ । यसका लागि राजनीतिक प्रतिबद्धता पनि चाहिन्छ”, उनले भने । पूर्वराजदूत रेले सन् २०१४ मा नेपाल भ्रमण गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘हाइवेज, इन्फोवेज र ट्रान्सोवेज’ को विकासलाई जोड दिँदै अन्तरदेशीय समन्वयमा जोड दिएका थिए भन्दै यसैमा आधारित रहेर जलविद्युत्का सम्बन्धमा सहकार्य उचित हुन्छ भन्ने धारणा राखे ।
“मेरो बुझाइमा नेपालमा पानीको स्रोत प्रचुर मात्रामा छ, यसलाई सही व्यवस्थापन र उपयोग गरेर लागत कम हुनेगरी अन्तरदेशीय व्यापारका लागि सहज हुनेगरी विद्युत्को विकास गर्नुपर्छ”, उनले भने । नेपालका ठूला जलविद्युत् परियोजनाको निर्माण अवधि लम्बिँदा लागत बढ्न जाँदा उचित प्रतिफल लिन र राजस्व वृद्धिमा असर परिरहेको पूर्वराजदूत रेको भनाइ थियो ।