२५ भदौ, काठमाडौँ । तेजाब एसिड आक्रमणका घटना कम तथा निरुत्साहित गर्नका लागि तेजाबको बिक्री वितरणमा थप कडाइ गर्न पीडितले सरकारसमक्ष माग गरेका छन् ।
‘चौथो एसिड आक्रमणविरुद्धको अभियान दिवस’का अवसरमा आज राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पीडित र सरोकारवालाबीच गरेको छलफलमा उनीहरुले तेजाब वा अन्य घातक रासायनिक पदार्थको सजिलै खरिद बिक्री भइरहनु चिन्ताजनक भएको उल्लेख गरे ।
सन् २०१९ मा १५ वर्षको उमेरमा तेजाब आक्रमणमा पर्नु भएकी मुस्कान खातुनले यस्ता पदार्थको खरिद बिक्रीमा कडाइ नहुँदा आक्रमणको घटना रोक्न नसकिएको बताए । तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन ऐन, २०७९ को फितलो कार्यान्वयन र जनचेतनाको अभावमा यसप्रकारका घटना भइरहेको उनको भनाइ थियो ।
“तेजाब बिक्री वितरणमा कडाइ हुनुपर्छ । ममाथि आक्रमण भइसकेपछि पनि पाँचभन्दा बढी घटना भइसकेका छन्”, खातुनले भने, “एसिड आक्रमणविरुद्ध जनचेतनाको अभाव छ । तेजाब आक्रमणविरुद्ध र यसको कानुनी व्यवस्थाबारे विद्यालयको पाठ्यक्रममा राखिनुपर्छ ।”
विगत पाँच वर्षदेखि तेजाब आक्रमणका लागि जनचेतना फैलाउन निरन्तर अग्रसर खातुन आफैँले पीडितका रुपमा भोग्दै आएको समस्या भने उस्तै छ ।
तेजाब आक्रमणपछि पीडितले न्याय पाउन भोग्नु पर्ने सास्ती स्मरण गर्दै उनले भने, “पीडितले न्याय पाउन पनि सङ्घर्ष गर्नुपर्ने अवस्था छ । आफ्नो पीडा पटकपटक दोहोर्याइरहनु पर्ने अवस्था छ ।”
सरकारले तेजाब आक्रमणमा परेका पीडितका लागि निःशुल्क स्वास्थ्य उपचार पाउने व्यवस्था गरेको छ । सरकारले कस्मेटिक उपचारबाहेक अन्य तेजाब आक्रमणसँग सम्बन्धित सबै उपचार तथा औषधि खर्च आजीवन बेहोर्ने गरेको छ । झन्झटिलो र ढिलो गरी हुने शोधभर्ना भुक्तानी प्रक्रियाले पीडितलाई थप सास्ती थपिएको खातुनको भनाइ छ ।
“औषधि उपचारका लागि अस्पतालमा पटक–पटक जानुपर्ने अवस्था छ । धेरै समय लाग्ने हुँदा उपचार मै ढिलाइ हुन्छ । अहिले मेरो उपचारको खर्च बुबाले बेहोरिरहनुभएको छ”, खातुनले भने ।
रास्वपा सांसद बिन्दबासिनि कङ्साकारले पीडकलाई हदैसम्मको सजायको व्यवस्था गर्नुपर्नेमा जोड दिए । तेजाब आक्रमणबाट पीडित समेत रहनुभएकी कङ्साकारले कानुनको प्रभावकारी कार्यान्वयनमा प्रश्न उठाउदै आएका छन् । उनले प्राकृतिक जलनका घटनालाई न्यूनीकरण गर्दै आपराधिक तवरबाट हुने जलनका घटनामा पीडकलाई हदैसम्मको सजाय र पीडितलाई सम्मानजनक जीवनयापनको व्यवस्था हुनुपर्ने माग गरे ।
उनले प्रतिनिधिसभामा ‘मानव शरीर जलन नियन्त्रण तथा सजाय विधेयक, २०८१’ दर्ता गराइसकेका छन् । “पछिल्लो ११ वर्षमा चार सय ४० जनामाथि तेजाब आक्रमण भइसकेको छ”, सांसद कङ्साकारले भने, “तेजाबले रुप बिग्रार्ने मात्र हैन । यसले व्यक्तिको आत्मविश्वासलाई नै डगमगाइदिन्छ । यसबाट बाहिर आउन परिवारको साथ अत्यन्तै महत्वपूर्ण हुन्छ ।”
सांसद कङ्साकारले तेजाब आक्रमण तथा अन्य जलनमा तत्काल अपनाउनुपर्ने सावधानीका विषयमा पनि जनचेतना फैलाउनुपर्नेमा जोड दिए । “सबै प्रकारको जलनको पीडा उत्तिकै हुन्छ । तर तेजाब आक्रमणका घटना यति धेरै भइसक्दा पनि यस्तो अवस्थामा तत्कालै के गर्ने जनचेतना छैन”, उहाँले भने, “ममाथि तेजाब आक्रमण हुँदा त्यो तेजाब पखाल्नुपर्छ भन्ने ज्ञान थिएन । अस्पतालमा पुगिसक्दा पनि अनुहारको तेजाब पखालिएन, त्यस समयमा पखालिएको थियो भने यति धेरै क्षति नहुने रहेछ ।”
छलफलमा सहभागी तेजाब आक्रमण पीडित जेनी खडकाले पीडितको पुनःस्थापनमा समाजको दृष्टिकोणले पर्ने प्रभाबबारे धारणा राखे । “बाहिरी सुन्दरतालाई महत्व दिने र पीडितको चरित्रमाथि नै उल्टै प्रश्न उठाउने गरिन्छ”, खडकाले भने, “आज पनि न्याय पाएको जस्तो लाग्दैन । जो व्यक्तिले मलाई तेजाब आक्रमण ग¥यो सो व्यक्ति तीन वर्षको कैद सजाय सकेर अहिले स्वतन्त्ररुपमा आफ्नो जिन्दगी चलाइरहेको छ । तर म आज पनि त्यही तेजाबको कुरा गरिरहेको छु, आफ्नै सफाइ दिइरहेको छु ।”
त्यस अवसरमा रास्वपाका सभापति रवि लामिछाने पीडितलाई न्याय दिलाउन र यस्ता घटना घटनै नदिन रास्वपा प्रयासरत रहेको बताएका थिए । “देशले जलनका पीडितलाई न्याय गर्नेछ । कानुनी रुपमा त्यसको सुनिश्चित गर्न हामी कटबद्ध छौँ”, पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेले भने, “तपाईंलाई सहानुभुति होइन, हक र अधिकार दिलाउने लडाइमा हामी लडिरहेका छौँ, यसमा हाम्रो ऐक्यवद्धता छ ।”
हल तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन ऐनअनुसार यस्ता पदार्थको उत्पादन, निकासी, पैठारी वा बिक्री वितरण गर्न चाहने व्यक्तिले सरकारी अनुमतिपत्र प्राप्त गरेको हुनुपर्ने व्यवस्था छ । ऐनमा तेजाब पदार्थको प्रयोग गर्ने उद्योग, प्रयोगशाला, अनुसन्धानशाला, शैक्षिक संस्था, कार्यशाला, वर्कसप, धातुका गहना बनाउने वा अन्य कुनै व्यावसायिक काम गर्ने फर्म, कम्पनी वा व्यक्तिले मात्र खरिद गर्न पाउने भनिएको छ ।
यस्तै, व्यावसायिक प्रयोजनका आगि आवश्यक परिमाणमा मात्र खरिद गर्नुपर्ने व्यवस्था छ । तेजाब वा अन्य घातक रासायनिक पदार्थको प्रयोग गर्ने तोकिएको संस्था वा व्यक्तिले यस्ता पदार्थको प्रयोग भएको परिमाणको अभिलेख र विवरण नराखेको पाइएमा १० हजारसम्म जरिवानाको व्यवस्था गरिएको छ ।
ऐनले नै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न व्यवस्था गरेको छ । तीनै तहको सरकारले तेजाब वा अन्य घातक रासायनिक पदार्थको प्रयोग गर्दा अवलम्बन गर्नुपर्ने सावधानी तथा सुरक्षा सतर्कता, दुर्घटना भएको अवस्थामा क्षति कम गर्न गर्नुपर्ने उपाय, यसको प्रयोग गर्दा हुनसक्ने क्षतिबारे आवश्यक सचेतनामूलक कार्यक्रम सञ्चालन वा प्रचार प्रसार गर्नु वा गराउनुपर्ने व्यवस्था छ ।
मुलुकी अपराधसंहिता ऐन, २०७४ अनुसार तेजाब आक्रमणबाट नलागेमा वा कोही त्यसबाट छलिएमा वा उम्किएमा पीडकलाई पाँचदेखि सात वर्षसम्म कैद र एक लाखदेखि तीन लाख रुपैयाँसम्म जरिवाना हुनेछ । आक्रमणबाट दुवै आँखा, कान, नाक र अनुहार, महिलाको स्तन वा व्यक्तिको यौनाङ्ग जली वा क्षति पूर्णरुपमा काम नलाग्ने भएमा पीडकलाई बीस वर्ष कैद र १० लाख रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था छ ।