खेलकुद

खेल क्षेत्रको आवश्यकतालाई मध्यनजर गर्दै मन्त्रालय अगाडि बढ्छः खेलकुदमन्त्री चौधरी

२५ भदौ, दोलखा । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाली खेल क्षेत्रको आवश्यकतालाई मध्यनजर गर्दै युुवा तथा खेलकुद मन्त्रालय अगाडि बढ्ने बताएका छन् ।

नेपाल विद्यार्थी सङ्घ दोलखाले आज आयोजना गरेको स्व भीमबहादुर तामाङ स्मृति नेविसङ्घ कप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री चौधरीले कीर्तिपुरस्थित क्रिकेट मैदान स्तरोन्नति तीन सय दिनभित्रै पूरा गर्ने बताए ।

उनले केपी ओली नेतृत्वको वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठकको निर्णय र नेपाली खेल क्षेत्रको आवश्यकतालाई मध्यनजर गर्दै मन्त्रालयले उक्त अभियानलाई प्राथमिकताका साथ अघि बढाएको जानकारी दिए । कीर्तिपुर खेलमैदानमा निर्धारित समयमा प्यारापिट, फ्लडलाइट जडान हुने उनको भनाइ थियो ।

मन्त्री चौधरीले पारा ओलम्पिक खेलकुदमा नेपाललाई कास्य पदक दिलाएकी तेक्वान्दोकी पलेशा गोवद्र्धनलाई सरकारकातर्फबाट कर छुट गरेर रु ६५ लाख नगद शुक्रबार हस्तान्तरण गरिने बताए ।

दोलखालगायत हिमाली जिल्लामा पनि खेल क्षेत्रको विकासका लागि सरकारले महत्वपूर्ण योजना बनाइरहेको उनले बताए ।

कार्यक्रममा नेपाली कांग्रेस दोलखाका पार्टी सभापति वर्मा लामा, नेता ईश्वर नारायण मानन्धरलगायतले मन्तब्य व्यक्त गरेका राखेका थिए ।