कर्णाली प्रदेश

व्यावसायिक सतुवा खेतीमा नरहरिनाथका किसान

२६ भदौ, कालिकोट । कालीकोटको नरहरिनाथ गाउँपालिकामा दुई जना किसानले व्यावसायिक सतुवा खेती गरेका छन् । गाउँपालिका–५ रुप्साका जसमल बोगटी र वडा नं ७ माल्कोटका श्याम बटालाले सतुवा खेती गर्दै आएका छन् ।

पाँच वर्षअघि परीक्षणका लागि जङ्गलबाट ल्याएको सतुवा खेती गरेका उनीहरूले पछिल्लो समय त्यसलाई व्यावसायिक रूपमा अगाडि बढाएका छन् । उनीहरूले हाल सतुवाको बीउ पनि उत्पादन गरिरहेका छन् ।
सतुवा एक प्रकारको जङ्गली जडिबुटी हो । त्यसैको खेती गरेर हाल आफूले राम्रो आम्दानी गरिरहेको बताए बोगटी । उनले भन्छन्,“सतुवा एउटा जङ्गली जडीबुटीको हो, पाच वर्षअघि परीक्षणका रूपमा सुरु रहेको थिए, त्यो सफल भएपछि पछिल्ला केही वर्षदेखि व्यावसायिक खेती गर्न थालेको हुँ । हालसम्म १० क्वीन्टल जति बिक्री गरेँ हुँला”, उनले भने ।

बोगटीले करिब ५० हजार सुतवाका बिरुवाको नर्सरी लगाएका छन् । “नर्सरीमा उत्पादन भएका बीउ प्रतिकेजी १० हजारदेखि रु १५ हजारसम्म बिक्री हुने गरेको छ । हाल पाँच केजी बीउ उत्पादन गरेको छु”, उनले भने, “यो महँगो खाले जडिबुटी हो । अब सय क्वीन्टलसम्म बनाएर बिक्री गर्ने लक्ष्य राखेको छु ।”

उच्च पहाडी भेगमा पाइने सतुवा औषधिका रूपमा प्रयोग गरिँदै आएको छ । अर्का कृषक श्याम बटालाले भन्नुभयो,“सतुवा विशेषगरी पेट दुख्ने, पाकेको घाउ, बान्ता वा पखाला लागेका बिरामी तथा गाईभैँसी बिरामी हुँदा खुवाइने चलन छ । पाँच वर्षदेखि यसको व्यावसायिक खेती गर्दै आएको छु ।” उनले बिक्रीको समस्या नहुने तथा पर्याप्त मूल्य पाइने भएकाले खेती सुरु गरेको बताए । “तीन वर्षपछि मात्र यसबाट उत्पादन लिन सकिन्छ । मैले खेती गरेको पाँच वर्ष भयो, हाल मसँग १५ क्वीन्टल जति सतुवा छ । यसलाई बढाएर मात्रै एकमुष्ट बिक्री गर्ने लक्ष्य राखेको छु ।”

बीउको राम्रो मूल्य

बोगटीले सतुवाको बीउको मूल्य र बजार माग पनि राम्रो रहेको सुनाए। “सतुवाको बीउको मूल्य बजारमा राम्रो छ”, उनले भने, “यसको बजार मूल्य प्रतिकेजी रु १५ हजारदेखि २० हजारमा पर्ने गरेको छ ।”

सुरुमा उत्पादन भएको सतुवाको बीउको मूल्य थाहा नभएका कारणले सस्तोमा बिक्री गरेको अहिले बजार मूल्य थाहा पाएर महँगोमा बिक्री गर्ने गरेको बोगटीले बताए । “जति बढी खेती गर्यो, त्यति बढी बीउ उत्पादन हुन्छ । विगतमा मैले एक केजी मात्र उत्पादन गर्ने गरेको भए अहिले त्यो बढ्दै गएको छ”, उनले भने ।
किसान बोगटी भने प्रचारप्रसारको अभावमा बजार विस्तार हुननसकेको बताए । “अहिले प्रचारप्रसारको अभावले बीउ बिक्री हुन सकेको छैन । अलिकति बेचे पनि अझै १० केजी बीउ मौज्दात रहेको छ”, उनले भने

कृषिजन्य वस्तुको उत्पादन र उत्पादकत्व बढाएर देशलाई आत्मनिर्भर बनाउने उद्देश्य राखिए पनि कुनै पनि सरकारी निकायले प्रचारप्रसार र बजारीकरणका लागि सहयोग नगरेको दुवै किसानको गुनासो छ । “यो खेती र सतुवाको महत्वबारे प्रचार हुनसकेमा जिल्लामा मात्रै होइन अन्य क्षेत्रमा पनि यसको माग बढ्ने विश्वास छ । अन्य खेतीका लागि सरकारले नै अनुदान दिएर प्रोत्साहन गरिरहेको छ तर यस खेतीको प्रवर्द्धनका लागि कुनै काम भएको छैन”, दुवैको एउटै गुनासो छ ।