बाग्मती

मुपात्र एवं राक्षस जात्रा सुरु

५ असोज, भक्तपुर । यँया पुन्हीको अवसरमा आठ दिन मनाइने इन्द्रजात्राअन्तर्गत भक्तपुरमा मुपात्र जात्रा सुरु भएको छ ।

प्रत्येक वर्षको असोज कृष्ण द्वितियादेखि चौथीसम्म तीनदिन मनाइने भक्तपुरको फरक मुपात्र अर्थात राक्षस जात्रा भक्तपुरमा सुरु भएको हो । यो जात्राको मुख्य आकर्षण मुपात्र राक्षस भएकाले यसलाई स्थानीयले राक्षस जात्राको रुपमासमेत लिने गरेका छन् ।

यो जात्रामा मुपात्रको रुपमा एक जना प्रमुख र धिःचा नामक अन्य दुई जना सहायक गरी तीन जना राक्षसको सहभागिता रहन्छ । तीनै जनालाई राक्षसको जस्तो पोसाक लगाइ अनुहारमा विभिन्न रङ्गको शृङ्गार पटारका साथ तरबार समात्न लगाइ भक्तपुर नगर पूरै परिक्रममा गराउने प्रचलन छ ।

नगर परिक्रमा गर्दा भक्तपुर नगरको टोलटोलमा ठड्याइ राखेको यमांद्यः मुपात्रलाई राक्षसले तीन पटक घुमेर तरवारले हानेको अभिनय गर्दछन् । यसको अर्थ इन्द्रजात्राको पहिलो दिन टोल टोलमा बाँधेर राखेका यमांद्यःलाई छुटाउन उसलाई बाँधेको डोरी काटेको भन्ने बुझिन्छ ।

मुपात्र जात्रा सुरु हुनुअघि स्थानीय सःकुलान टोलका मानन्धरले त्रिशुल आकारको दुई वटा या मताः आकाश दीप दत्तात्रयस्थित भिमसेन मन्दिर अघि बाल्ने र त्यसपछि तचपालस्थित सँला गणेशलाई खटमा राखेर नगर परिक्रमा गराइन्छ ।

जात्राको दोस्रो दिन गोल्मढीका मानन्धरको या मताः बाल्छन भने चोछें टोलको छुमा गणेशको मूर्तिलाई खटमा राखी दरबार स्क्वायरको तलेजु भवानीको दर्शन गराइन्छ । त्यस स्थानमा एउटा या मताः बालेर बाजागााजाका साथ नगर परिक्रमा गरेपछि सोही राती सँला गणेश र छुमा गणेशलाई आ–आफ्नो द्योःछे देवगृह मा पुर्याइन्छ ।

जात्राको अन्तिम अर्थात आश्विन कृष्ण चौथीका दिन स्थानीय टौमढीमा रहेको आकाश भैरवमा गुठी संस्थान कार्यालयबाट ल्याइएको सरकारी पूजाअर्चना सम्पन्न गरी तल्लो टोलका मानन्धरहरुले बुलुचास्थित ढुङ्गेधारा अगाडि दुई या मताः बालेर काशी जगनाथ भैरवनाथको अर्को प्रतीक मशान भैरवको जात्रासँगै नगर परिक्रममा गरिन्छ ।

यसदिन जात्रामा नायखिङ खड्गी समुदायले बजाउने विषेश बाजा बजाएर नगर परिक्रमा गरिन्छ । त्यसपछि भक्तपुरको स्थानीय लाकुलाछें टोलबाट पुलुकिसी जात्रा निकालिन्छ । जात्रा सुरु गर्नुअघि टौमढीमा रहेको भैरवनाथलाई तीन पटक परिक्रमा गराइ दर्शन गर्ने र त्यसपछि नगरपरिक्रमा गराइन्छ । पुलुकिसीले भक्तपुर नगरको आधा भाग परिक्रमा गरिसकेपछि मात्र त्यस दिन मुपात्र जात्रा निकालिन्छ ।

जनश्रुतिअनुसार देवराज इन्द्रकी आमा बसुन्धरालाई चतुर्मासको व्रत बस्नका लागि पारिजातको फूल आवश्यकता भएको तर स्वर्गमा नपाएपछि इन्द्रले मत्र्यलोकमा छोरा जयन्तलाई पारिजातको फूल खोज्न पठाउएको थियो । फूल खोज्दै जाने क्रममा दैत्यहरूको बगैँचामा परिजात फूल टिप्दै गरेको बेला राक्षसहरूले जयन्तलाई पक्राउ गरी दुई हात पछाडि बाँधेर चोकमा उभ्याएर राख्छन् । यो चाल पाएर इन्द्र छोरा जयन्तलाई राक्षसको चंगुलबाट छुटाउन आफ्नो बहान हात्ती लिएर राक्षससँग युद्ध गर्दछन् ।

युद्धमा राक्षसलाई हराएर उनीहरूकै हातबाट डोरी काट्न लगाइ छोरा जयन्तलाई छुटाएर लैजान्छन् । यही कथा धार्मिक ग्रन्थ देवी पुराणमा उल्लेख भएको र सो कथाअनुसार मल्लकालमा भक्तपुरका राजा जगतप्रकाश मल्लले दृश्य अनुकरण गरी जात्रा प्रचलनमा ल्याएको संस्कृतिकर्मी बताउँछन् ।

यँया पुन्हीको अवसरमा पहिलो दिन भक्तपुरको टोल टोलमा यमांद्य ठड्याउनुलाई जयन्तलाई डोरीले बाँधेर चोकमा उभ्याएको, मुपात्रले यमांद्यलाई तीन पटक घुमेर हातको तरवारले काटेको अभिनय गर्नु प्रचलित लोककथनसँग मिल्दो जुल्दो भएको इतिहास तथा संस्कृतिविद् डा पुरुषोत्तम लोचन श्रेष्ठ बताए ।

जात्राको अन्तिम दिन मुपात्र र पुलुकिसी आपसमा भेट हुन नहुने मान्यतासमेत रहेको छ । लोककथनअनुसार पुलुकिसीले कुल्चेर मुपात्रलाई मारेको खण्डमा कुनै कानून नलाग्ने भनाइ रहेकाले पुलुकिसी र मुपात्रलाई आपसमा भेट नहुने गरी जात्रा चलाउने गरेको हो ।

यो जात्रामा मुपात्र बन्ने व्यक्तिले आजन्म जात जाने र भातपानी नचल्ने सजाय भोग्नुपर्ने प्रचलन रहेको छ । सोअनुसार मुपात्र बन्ने व्यक्तिलाई अछुतको व्यवहार गरिन्छ । त्यसैले यो जात्रामा स्थानीय बासिन्दाभन्दा पनि बाहिरकालाई गुठी संस्थानले मुपात्र बनाउँदै आएको छ ।