लुम्बिनी

पेडारी खोलाको पुलले गाउँ र सहरलाई जोड्दै

७ असोज, नेपालगञ्ज । पेडारी खोलाको पुलले दुर्गम गाउँ र सहरलाई जोड्ने भएको छ । कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकालाई जोड्ने कोहलपुर नगरपालिका वडा नं १५ मा निर्माण हुन लागेकोे पुलले स्थानीयलाई आवतजावत गर्न सहज हुने कोहलपुर–१५ का वडाध्यक्ष दीपेन्द्रकुमार चौधरीले जानकारी दिए । उहाँनले बैजनाथका मर्चरा, गुरुवागाउँ र पेडारी गाउँलाई कोहलपुर बजारसँग जोड्ने उल्लेख गर्दै २०६३ सालदेखि पुल बनाउने सपना बल्ल साकार हुन लागेको बताए।

निर्माणाधीन पुलले स्थानीयका अन्नपात बेचबिखन गर्न सहज हुने बताउँदै वडाध्यक्ष चौधरीले लामो समय लगाएर घुमेर कोहलपुर बजार जानुपर्ने अवस्थाको अन्त्य हुने बताए। कोहलपुर र बैजनाथका जनप्रतिनिधिको निरन्तर प्रयासका कारण सङ्घीय सरकारको बजेटबाट सो पुलको निर्माण सुरु गरिएको कोहलपुर–१५ का वडाध्यक्ष चौधरीले बताए । कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाको संयुक्त प्रयासमा रु सात करोड लागतमा पक्की पुल निर्माणको पहल भएको हो ।

कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुर बजारलाई जोड्ने पक्की पुल नहुँदा कोहलपुर–१५ र बैजनाथ–५ र ७ का स्थानीयले सास्ती झेल्नुपरेको उल्लेख गर्दै पुल निर्माण भएपछि स्थानीयले झेल्नुपरेको सास्तीको अन्त्य हुने बताए । उहाँले पुल नहुँदा वर्षाको समयमा बालबालिका पढ्न नपाउने, खेती गरेका किसानले आफूले लगाएको बालीसमेत लिन नपाउनेलगायत विभिन्न सास्ती भोग्नुपरेको उल्लेख गरे ।

प्रमुख आचार्यले आफूले निर्वाचनको बेला जनतासँग गरेको प्रतिबद्धता पूरा गरेकामा खुसी व्यक्त गर्दै पुल निर्माणपश्चात कोहलपुर र बैजनाथका ग्रामीण भेगका स्थानीय प्रत्यक्ष लाभान्वित हुने बताए। बैजनाथ गाउँपालिका–७ का वडाध्यक्ष दिनेश थारूले लामो समयदेखि स्थानीय जनताको मागअनुसार पुलको निर्माण सुरु हुनु यस क्षेत्रको विकासका लागि गौरवको विषय भएको बताए।