१२ असोज, स्याङजा । स्याङ्जाको भीरकोट नगरपालिका–१ बयरघारीमा बहुउद्देश्यीय सामुदायिक भवन निर्माण हुने भएको छ । क्षेत्री समाज नेपाल केन्द्रीय समिति र भीरकोट नगर कार्यसमितिका संयुक्त साझेदारीमा तीन तले भवन बन्न लागेको क्षेत्री समाज भीरकोटका अध्यक्ष मीनबहादुर केसीले जानकारी दिए ।
उनका अनुसार सात हजार एक सय ६५ वर्गफिट क्षेत्रफलमा फैलने भवन तीन करोडको लागतमा निर्माण हुनेछ । “भवन क्षेत्री समाजले निर्माण गरे पनि सबै जातजातिले प्रयोग गर्न पाउँछन्”, उनले भने, “भवन निर्माणमा लाग्ने सबै खर्च शुभेच्छुकहरूसँग सङ्कलन गरिने छ ।”
क्षेत्री समाज भीरकोटका सचिव लेखबहादुर केसीले भवन निर्माणका लागि नगरपालिकाले १० लाख विनियोजन गरेको र शुभेच्छुकबाट हालसम्म १२ लाख सहयोग जुटेको बताए । उनले भने, “हामीले बहुउद्देश्यीय भवनको शिलान्यास भएको छ । अबको दुई वर्षभित्र आर्थिक सहयोग जुटाएर भवन निर्माणको काम सम्पन्न हुनेछ ।”
सामुदायिक भवनमा सात सय अट्ने सभा हल, कार्यालय भवन, व्यापारिक सटर रहने छन् । भवनको भीरकोट नगरपालिकाका प्रमुख गोविन्द कुमार कर्माचार्य र समाजका अध्यक्ष केसीले संयुक्त रूपमा शिलान्यास गर्नुभएको थियो । भवन निर्माण सम्पन्नपछि सर्वसाधारण, सङ्घसंस्थालाई विभिन्न कार्यक्रम गर्न र व्यापार गर्न सहज हुने अपेक्षा राखिइएको छ ।