साहित्य

प्रकाश तिवारीको उपन्यास ‘९६ गड्डी’ सार्वजनिक

१७ असोज, काठमाडौं । साहित्यकार प्रकाश तिवारीको कृति ‘९६ गड्डी’ सार्वजनिक भएको छ । काठमाडौंको नयाँ बानेश्वरमा रहेको काठमाडौं ब्याङ्केटमा एक कार्यक्रमको आयोजना गरी कृति सार्वजनिक गरेको हो ।

आफ्नो चौथो कृति ‘९६ गड्डी’का बारेमा प्रकाश पार्दै लेखक तिवारीले मानवअधिकार, सुशासन, आन्दोलन र राजनीतिक परिवर्तन तथा नयाँ नेपाल निर्माणको सेरोफेरोमा उपन्यास लेखिएको बताए । सदाचार, नैतिकता र आदर्शबाट विमुख हुँदै गएको नेपाली राजनीति र कर्मचारीतन्त्रको कथानै ९६ गड्डीको अन्तरकथा रहेको उनको भनाइ छ ।

कार्यक्रममा वक्ताहरूले शक्ति र धनको अगाडि नतमस्तक भइ प्रस्तुत हुने नेपाली सांस्कृतिक विकृतिको प्रतिबिम्ब ९६ गड्डी रहेको बताए ।

समाजमा कर्मचारीतन्त्र चरम भ्रष्ट छ भन्ने सबैभन्दा ठुलो गुनासो र पीडा जनस्तरमा रहेको भन्दै पैरवी प्रकाशनका अध्यक्ष चन्द्रप्रसाद सिवाकोटीले लेखकका अभिव्यक्ति र आकाङ्क्षालाई आत्मसाथ गर्न सके केही हदसम्म नेपाली समाजमा रहेको भ्रष्टाचारजन्य विकृत समस्या र विकृतिहरूलाई न्यूनीकरण गर्न मार्ग सहज हुन सक्ने बताए ।

कार्यक्रममा सम्पादक, साहित्यकार तथा समाजमा विशिष्ठ योगदान पुर्याएका विभिन्न व्यक्तिहरूलाई सम्मानपत्र तथा दोसल्ला ओडाइ सम्मान गरिएको थियो ।

पैरबी बुक हाउस प्रालिले प्रकाशन गरेको ९६ गड्डीको मूल्य पाँच सय ९५ रूपैयाँ रहेको छ ।