गण्डकी प्रदेश

तनहुँ समाचार : छ महिनामा चार अजिङ्गरको उद्धार

१९ असोज, तनहुँ । डिभिजन वन कार्यालय तनहुँले चार अजिङ्गरको उद्धार गरी सुरक्षित स्थानमा छाडेको छ । गत वैशाखदेखि यहीअसोज महिनासम्म जिल्लाका विभिन्न स्थानबाट उद्धार गरेको हो । गत बिहीबार मात्रै व्यास नगरपालिका–१२ स्थित कमलबारीमा भेटिएको अजिङगरको उद्धार गरिएकोसो कार्यालयले जनाएको छ ।

दश फिट चार इन्च लामो र १५ किलो दुई सय ग्रामको तौल भएको अजिङ्गको उद्धार गरिएको उद्धारकर्ता अर्जुन श्रेष्ठले जानकारी दिए । उद्धार गरिएका अजिङगरको बस्तीदेखि टाढा,घनाजंगल र सुरक्षित स्थानमा लगेर छाड्ने गरिएको छ । केही अघि मात्रैव्यास–२ अमरापुरी,व्यास–१३ बेलबास लगायतका स्थानमा अजिङगर भेटिएको थियो ।

विस्तारको काम भइरहेको पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्डअन्तर्गत सडकको नालीमा फेला परेको अजिङ्गर स्थानीयले जानकारी दिएपछि डिभिजन वन कार्यालयले उद्धार गरेको हो ।

सवारी चालक अर्जुनकुमार श्रेष्ठ, सशस्त्र वन रक्षक जमदार सूर्य सुवेदी, सशस्त्र वन रक्षकहरु कृष्ण कैनी, रामकाजी अधिकारी, गुननारायण श्रेष्ठ र चौकीदार उत्तम मल्लको टोलीले अजिङ्गरको उद्धार गरेको डिभिजन वन कार्यालयले जनाएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार अजिङ्गरलाई संरक्षित सरिसृपको रुपमा लिइने गरिएको वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिए । “अजिङ्गर हत्तपत्त भेटिने जीव होइन”, उनले भने, “यसले मानव जातिलाई क्षति नगरे पनि बाख्राका ससाना पाठापाठी खाएर नोक्सान पु¥याउने गर्दछ ।”

तनहुँमा तीन हजार मेट्रिकटन मास उत्पादन

तनहुँ झण्डै तीन हजार मेट्रिकटन मास उत्पादन हुने गरेको छ । धान खेती नहुने, पानी नलाग्ने र सुक्खा बारीमा मासको व्यावसायिक रुपमा खेती गर्ने गरेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।

मास खेती गर्न सजिलो, धेरै परिश्रम गर्नु नपर्ने र थोरै लगानीमा राम्रो मूल्य पाइने भएपछि मास खेतीतर्फ किसानको सङ्ख्या बढ्दै गएको कार्यालयका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत किरण परियारले जानकारी दिए ।

यहाँ उत्पादित मास जिल्लाभित्रै खपत भई बाँकी पोखरा, नारायणगढ, काठमाडौँलगायतका सहरमा निर्यात हुने गरेको छ, उनले भने, “मास उत्पादक किसानले गतवर्ष प्रति पाथी आठ सयमा बिक्री वितरण हुने गरेको छ ।”

जिल्लामा तीन हजार चार सय ४३ हेक्टर क्षेत्रफलमा मास खेती हुँदै आएको छ । गतवर्ष दुई हजार नौ सय साठी मेट्रिकटन मास उत्पादन हुने गरेको प्रमुख वरिष्ठ कृषि विकास अधिकृत गोपाल शर्मा लामिछानेले जानकारी दिए ।

यसवर्ष वर्षालगायतका मौसम राम्रो रहेकाले मास उत्पादनमा वृद्धि हुने विश्वास लिइएको उनले बताए । जिल्लाका ऋषिङ, घिरिङ, शुक्लागण्डकी, म्याग्दे, बन्दीपुर, व्यास, भानु आँबुखैरेनी, देवघाट लगायतका पालिका मास खेतीका लागि पकेट क्षेत्रका रुपमा लिइने गरिएको छ ।

त्यसैगरी कार्यालयले रैथाने बाली संरक्षणअन्तर्गत कोदो बाली उत्पादनका लागि प्रोत्साहन कार्यक्रम ल्याएको छ । रैथाने बाली उत्पादनमा ५० प्रतिशत अनुदानमा बीउ र कोदो चुट्ने थेसर मेसिन दिने गरिएको छ । जिल्लामा छ हजार एक सय पाँच हेक्टर क्षेत्रफलमा कोदो खेती हुने गरेको छ । कार्यालयका अनुसार गतवर्ष मात्रै सात हजार मेट्रिकटन उत्पादन भएको थियो । पछिल्लो समय कोदोको माग बढ्दै जान थालेपछि कोदो खेतीतर्फ किसानको आकर्षण पनि बढेको कार्यालय प्रमुख लामिछानेले बताए । कोदोमा प्रशस्त मात्रामा क्यालोरी पाइन्छ ।