खेलकुद

तार्कुकोट दौडमा बस्नेत र तामाङ पहिलो

१९ असोज, लमजुङ । लमजुङको सुन्दरबजारमा सञ्चालित जिल्लास्तरीय चौथो तार्कुकोट दौड प्रतियोगितामा पुरुषतर्फ बेँसीसहर नगरपालिका–११ का रामजी बस्नेत तथा महिलातर्फ दोर्दी गाउँपालिका–३ की सर्मिला तामाङ पहिलो भएका छन् ।

बस्नेतले निर्धारित ६ किलोमिटर दूरी ३४ मिनेट ३८ सेकेण्डमा तथा तामाङले तीन दशमलव एक किमिको दूरी २९ मिनेट ३० सेकेण्डमा पुरा गरे । बस्नेतले १५ हजार तथा तामाङले १० हजार पुरस्कार प्राप्त गरे।

यसैगरी पुरुषतर्फ मस्र्याङ्दी गाउँपालिका–७ का आयुष विक निर्धारित दूरी ३५ मिनेट ५६ सेकेण्डमा पुरा गर्दै दोस्रो भए । उनले १० हजार पुरस्कार प्राप्त गरे । महिलातर्फ राइनास नगरपालिका–३ की सोममाया परियार निर्धारित दूरी ३० मिनेट २० सेकेण्डमा पार गर्दै दोस्रो भए । उनले पाँच हजार पुरस्कार पाए।

आयोजक संस्था भोटेओडार युथ सोसाइटीका अध्यक्ष अभिषेक ढकालका अनुसार पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धन गर्न दौड प्रतियोगिता आयोजना गरिएको हो । दौडमा पहिलो तथा दोस्रो हुनेहरुलाई सुन्दरबजार नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद कोइरालाले पुरस्कार वितरण गरे ।