२४ असोज, भक्तपुर । यहाँको प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले हालैको बाढीपहिरो तथा डुबान प्रभावितलाई सरकारले उपलब्ध गराएको तीन लाख रकमसहित अन्य सामग्री वितरण गरेका छन्।
पहिरोमा पुरेर घरभित्रमा परी ज्यान गुमाएका मृतकका आफन्तलाई सङ्घीय विपद् व्यवस्थापन कोष र प्रदेश विपद् व्यवस्थापन कोषबाट उपलब्ध गराएको राहत रकमसहित राहत सामग्री लिएर उनी आफैँ पहिरोपीडितको बासस्थान पुग्रेका थिए ।
जिल्ला विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहनुभएका प्रजिअ श्रेष्ठले सूर्यविनायक नगरपालिका–८ स्थित आशापुरी नैचालमा पहिरोमा परेर मृत्यु भएका प्रतिमा तामाङका परिवारलाई तीन लाख र मृतक सुकुमाया तामाङको श्रीमान् तथा छोराहरुलाई तीन लाख नगद हस्तान्तरण गरेका छन् ।
यही असोज १२ गतेकै पहिरोमा परेर कालीकोट सानो त्रिवेणी–५ घर भई सूर्यविनायक –९ पलाखे बस्ने मृतक दमिला शाही र निजको छोरी प्रिया बमको दुई जनाको परिवारलाई तीन लाख गणेश बमको बैंक खातामा जम्मा गरिदिएको प्रजिअ श्रेष्ठले जानकारी दिए ।
त्यस्तै पहिरोमा परेर घाइते हुनुभएका सानु तामाङ र कान्छा तामाङको भने भक्तपुर अस्पतालमा निःशुल्क उपचार गरी राहतस्वरुप १५ हजार राहत रकम उपलब्ध गराएको उनले जानकारी दिए । मृतक परिवारलाई प्रजिअ श्रेष्ठले मृतक परिवारलाई तत्काल बासस्थानका निर्माणका लागि दुई वटा टेण्डर, तीन वटा त्रिपाल र भाँडाकुँडा दुई सेट हस्तान्तरण गरेका छन् ।
त्यसैगरी सूर्यविनायक नगरपालिकाले पनि सोही पहिरोमा परी ज्यान गुमाउने पाँच जनाकै परिवारलाई एक लाखको दरले राहत रकम प्रदान गरेको छ । नगर प्रमुख वासुदेव थापाको नेतृत्वमा उपप्रमुख सरिता भट्टराईसहित गएका जनप्रतिनिधि टोलीले पीडितका बासस्थानमै पुगेर तामाङ परिवारलाई जनही एक लाखको दरले रकम हस्तान्तरण गरेका छन् ।
विस्थापितलाई टेन्ट र भाँडाकुँडा वितरण गरिइएको थियो । जिल्लामा ४० घर अझै पहिरोको उच्च जोखिममा रहेको जनाउँदै सात घरपरिवारलाई अन्यत्रै सारिएको प्रजिअ श्रेष्ठले जानकारी दिए ।