बाग्मती

अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन साना उद्योगको ठूलो भूमिका हुन्छ

२५ असोज, काठमाडौँ । देशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योगहरूको ठूलो भूमिका हुने भन्दै सरोकार भएकाहरूले त्यस्ता उद्योगको प्रवर्द्धन र विकासलाई राज्यले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् ।

‘नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नाराका साथ यहाँस्थित राष्ट्रिय सभागृह परिसरमा आयोजित दोस्रो जिल्लास्तरीय उद्योगी मेला र दसैँ महोत्सव २०८१ को समापन समारोहमा आज सरोकार भएकाहरूले उक्त कुरामा जोड दिएका हुन् ।

कार्यक्रममा घरेलु तथा साना उद्योग सङ्घ काठमाडौँकी अध्यक्ष पद्मकुमारी कार्कीले अर्थतन्त्रको खम्बाका रूपमा रहेका लघु, घरेलु तथा साना उद्योहरूको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । उनले स्थानीयस्तरमा रहेका साना उद्यमीहरूको मनोबल बढाउनुपर्ने आवश्यकता औँल्याए ।

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले लघु, घरेलु तथा साना उद्योग नै अर्थतन्त्रको आधार भएकाले यस्ता उद्योगको प्रवर्द्धनका लागि महानगरपालिकाले प्राथमिकताका साथ काम गरिरहेको बताए ।

टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले लघु, घरेलु तथा साना उद्योगको प्रवर्द्धन र विकासमा राज्यले नीतिगत रूपमा धेरै कुरामा ध्यान दिए पनि व्यावहारिक रुपमा कार्यान्वयन हुन नसकेको बताए । काठमाडौँ महानगरपालिका सामाजिक विकास विभाग प्रमुख समीक्षा निरौलाले अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउने लघु, घरेलु तथा साना उद्योगको प्रवर्द्धन र बजारीकरणमा सघाउन प्रदर्शनी आयोजना गरिएको बताए ।

घरेलु तथा साना उद्योग सङ्घ काठमाडौँ र काठमाडौँ महानगरपालिकाको संयुक्त रूपमा गत बुधबारदेखि उद्योगी मेला र दसैँ महोत्सव सुरु भएको थियो ।