प्रदेश 2

समृद्धिका लागि शिक्षामा सुधार ल्याउनुपर्छ : अध्यक्ष यादव

२ कात्तिक, राजविराज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देश समृद्धि र विकासका लागि शिक्षामा सुधार ल्याउनुपर्ने बताएका छन् ।

जनतासँग जसपा, नेपाल आधारभूत सङ्गठन निर्माण अभियानअन्तर्गत सप्तरीको राजविराजमा आज आयोजित कार्यक्रममा उहाँले देशलाई अगाडि बढाउन त्यसका लागि शिक्षाको विकास हुनु आवश्यक रहेको बताए ।

“सबैभन्दा बढी शिक्षा क्षेत्रको अवस्था लथालिङ्ग भएको छ”, अध्यक्ष यादवले भन्नुभयो, “कुनै पनि मुलुकको विकास र समृद्धिका लागि त्यो देशको जनता शिक्षित हुनुपर्छ ।” उनले देशको विकास र समृद्धिका लागि गरिबी, बेरोजगारी र भ्रष्टाचार अन्त्यगरी समाजवादी व्यवस्था स्थापना गर्नुको विकल्प नरहेको जिकिर गरे।

मधेस आन्दोलनपछि आएको सङ्घीयता अहिलेसम्म कार्यान्वयन नभएकाले दलित उपेक्षित, महिला मधेसी जनताको अधिकार सुनिश्चित हुन नसकेको उल्लेख गर्दै अध्यक्ष यादवले ठूला पार्टी राष्ट्रिय निर्माणमा असफल भएको आरोप लगाए। शासक वर्गका कारण मधेसमा विकास नभएको भन्दै उनले गरिबी, बेरोजगारी, कमजोर शिक्षा र न्यून जनप्रतिनिधित्व देखिएको उल्लेख गरे ।

अध्यक्ष यादवले विभिन्न सङ्घर्षबाट मधेसी, आदिवासी, जनजाति, थारु, मुश्लिम, दलित, महिलाले पाएको अधिकार खोसिन सक्नेतर्फ सचेत रहन आग्रह गर्दै प्राप्त उपलब्धिको रक्षा र थप अधिकार सुनिश्चितताका लागि एकताबद्ध भएर सङ्घर्ष गर्नुपर्ने आवश्यकता औँल्याए ।