४ कात्तिक, पाँचथर । छ वर्षपछि प्रतिष्ठित फुटबल प्रतियोगिता फाल्गुनन्द गोल्डकप पुनः आयोजना हुने भएको छ ।
फिदिम स्पोर्टिङ क्लबले आउँदो पुस ६ देखि १५ गतेसम्म पाँचथरको फिदिममा प्रतियोगिता आयोजना गर्ने भएको हो । प्रतियोगिता सञ्चालन हुने फिदिमस्थित फिदिम माध्यमिक विद्यालयको खेलमैदान भत्किएपछि २०७६ सालदेखि यो प्रतियोगिता सञ्चालन हुन सकेको थिएन । दशवटा संस्करण पूरा गरिसकेको प्रतियोगिताको ११औँ संस्करण आयोजनाका लागि तयारी थालिएको फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दीपेन्द्र थापा मगरले जानकारी दिए ।
‘ए’ डिभिजनका न्यूनतम चार टोलीसहित १० फुटबल टोलीलाई आगामी प्रतियोगितामा सहभागी गराइने आयोजक संस्थाले जनाएको छ । यस्तै, मधेस, बागमती र कर्णाली प्रदेशका एक÷एक, भारतको एक र आयोजकसहित पूर्वका अन्य फुटबल टोली प्रतियोगितामा सहभागी हुने अध्यक्ष थापा मगरले बताउनुभयो । प्रतियोगिताको विजेताले रु पाँच लाख २५ हजार पाँच सय ५५ तथा उपविजेताले रु दुई लाख २५ हजार पाँच सय ५५ रकमसहित ट्रफी र मेडल प्राप्त गर्ने तथा विधागत रुपमा उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने आयोजक संस्थाले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न रु ७३ लाख ७५ हजार खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिता सम्पन्न गर्न आवश्यक खर्च व्यवस्थापनका लागि प्रायोजकहरुको खोजी, तीनै तहका सरकारसँग सहयोग माग गर्नेलगायत कार्य भइरहेको आयोजकले जनाएको छ । “पुराना प्रवद्र्धक र प्रायोजकसँग टुटेको सम्पर्क र सम्बन्ध पुनःस्थापित गर्न लागिपरेका छौँ”, अध्यक्ष थापा मगरले भने ।