मधेश प्रदेशको सप्तरीमा जन्मिएका सहप्राध्यापक डा. कुन्दन अर्याल अपरिचित र नौलो नाम होइन । अहिले अर्याल त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख हुन् । त्रिवि कार्यकारी परिषद्को बैठकले डा अर्याललाई चार वर्षको कार्यकालका लागि नियुक्ति गरेको छ । बरिष्ठ पत्रकार डा अर्यालको पत्रकारितामा लामो अध्ययन, अनुसन्धान र लगाव पनि त्यत्तिकै छ । खासगरी नेपालको पत्रकारिता, अध्ययन र अनुसन्धानको क्षेत्रमा केन्द्रित रही समुन्नत नेपालका लागि सुस्मिता लाल र सह-प्राध्यापक डा. कुन्दन अर्यालबीच भएको कुराकानीको सारसंक्षेपः
पत्रकारको समय सधैं व्यस्ततामा हुन्छ भन्छन् , के मा व्यस्त हुनुहुन्छ नि हिजोआज ?
पत्रकारिता क्षेत्रमा कार्यरत पत्रकारको समय व्यस्ततामा नै कटिरहेको हुन्छ । तपाईलाई थाहै छ, म यतिखेर पत्रकारिता विषयको अध्यापन, अनुसन्धान र व्यवस्थापनमा छु ।
अहिले पत्रिकारिता केन्द्रीय विभागमा अध्ययन गर्ने विद्यार्थी घटेका छन् नि ?
यसअघि पत्रकारिता केन्द्रीय विभागको पठनपाठन रत्नराज्यलक्ष्मी क्याम्पस, प्रदर्शनीमार्गबाट हुँदै आएको थियो । शहरको एउटा केन्द्र नै भएकोले र पत्रकारिता तथा आमसञ्चारप्रति आम विद्यार्थीहरुको रुचि भएकोले यो विषयमा विद्यार्थीको कहिल्यै कमी भएन । अहिले विभाग बल्खुस्थित त्रिभुवन विश्वविद्यालय परिसर आफ्नै नयाँ भवनमा सरेको छ । अब विषयहरुमा परिमार्जन मात्र होइन कतिपय सञ्चार र आमसञ्चारसँग सम्बन्धित विषयहरु थपिँदै छन् । आगामी दिनमा आमसञ्चार क्षेत्रले खोजेकोजस्तो जनशक्ति तयार गर्न विद्यार्थीलाई कसरी बढीभन्दा बढी प्रोत्साहित गर्ने भन्ने विषयमा गहन गृहकार्य गरिरहेका छौं । यो विभाग ज्ञानसँगसँगै सीप र दक्षतासहित वैज्ञानिक र आधुनिक पत्रकारीता शिक्षा उपलब्ध गराउने थलोको रुपमा विकसित भइरहेको छ । पाठ्यक्रमको परिमार्जनका लागि गहन विमर्श हुँदैछ । सबैको साथ सहयोग भए आगामी सत्रमा पत्रकारीता विभागमा विद्यार्थीको संख्या अझ बढ्नेमा म ढुक्क छु ।
जन्म कुन जिल्लामा भएको हो नि ?
मेरो जन्म मधेश प्रदेशको सप्तरी जिल्लाको राजविराजमा भएको हो ।
परिवारमा कति जना हुनुहुन्छ नि ?
हाम्रो परिवारमा बुवा, आमा, भाइ, बहिनी, श्रीमती र दुई छोरा रहेका छौं।
कुन पृष्ठभूमिबाट पत्रकारिताको क्षेत्रमा आउनुभएको हो ?
मेरो बुबा सरकारी जागिरे हुनुहुन्थ्यो । बुवाको सरुवा जुनजुन ठाउँमा हुन्थ्यो, त्यहाँका विद्यालयमा मैले अध्ययन गरेको छु । जस्तै, काठमाडौं, वीरगन्ज, जनकपुर, हेटौँडा, झापा र राजविराज गरी थुप्रै सहरका स्कूलमा पढेर मैले विद्यालय तहको शिक्षा हाँसिल गरेँ । त्यसक्रममा गहिरोसँग नेपालको भाषिक साँस्कृतिक विविधताको अनुभव गर्न पाएँ । एसएलसी पास गर्ने बेला राजविराज पुगें । त्यसपछि आइएसी सिद्धार्थ बनस्थलीबाट गरें र बिएसी पढ्न पाटन संयुक्त क्याम्पस पुगें । विएस्सीपछि धेरै वर्ष औपचारिक शिक्षाबाट टाढा रहेर पूर्णकालीक पत्रकार हुन पुगें । त्यतिबेला नेपालमा पत्रकारितामा स्नातकोत्तर भएको भए पढ्थें पनि होला, तर विज्ञानमा स्नातकोत्तर गर्ने आँटै थिएन । तैपनि पत्रकारिताका प्रशिक्षण भने विदेशबाट पनि लिएँ । मैले पत्रकारिताको पहिलो कोर्स आइएस्सी सक्ने वित्तिक्कै नयाँ दिल्लीको ठेगानाभएको दिल्ली स्कुल अफ जर्नालिज्म भन्ने संस्थाबाट सात महिना लगाएर आधारभूत करेसपोण्डेन्स कोर्स गरें । लगत्तै नेपाल प्रेस इन्स्टिच्यूटबाट पत्रकारिता डिप्लोमा पनि गरें र त्यसपछि लण्डनको एउटा कोर्स गरें । पछि डेनमार्कबाट रेडियो र कोरियाबाट पत्रकारिताका लामो तालिमहरु पनि लिएँ । तर औपचारिक शिक्षाको पुनःसुरुवात भने प्रा. रामकृष्ण रेग्मीले पूर्वाञ्चल विश्वविद्यालयबाट एमए एमसिजे सुरु गर्नु भएपछि नयाँ सशश्राब्दीमा गरेको हुँ । त्यसपछि भने एमफील र पिएचडी लगातार गरें ।
साइन्स ब्याकग्राउन्डबाट पत्रकारितामा आउनुभएको रहेछ, सुरुमा के पेसामा आबद्ध हुनुहुन्थ्यो ?
मैले पत्रकारिताबाहेक अरु पेसा अँगालेको छैन । म सुरुदेखि नै पत्रकारितामा नै आबद्ध थिएँ । एसएलसी उत्तीर्ण गरे लगत्तै मैले केही साथीहरुसँग मिलेर युवा सहचर हातेमालो’ भन्ने आवधिक पत्रिका सुरु गरेको थिएँ, जो पच्चीस अंकसम्म निस्कियो ।
राजनीतिमा पनि पहिल्यैदेखि सक्रिय हुनुहुन्थ्यो कि ?
म झापामा स्कुल पढ्दा नै अनेरास्ववियुको जिल्ला कमिटी सदस्य थिएँ । राजनीतिमा विशेष किसिमको रुचिले मलाई देश र देशभित्रको परिवेश सिकायो । जसले मलाई पर्चाहरु लेख्न सिकायो । त्यो पर्चा लेखनले मलाई लेखनको आधारभूत जानकारी गरायो । जसले गर्दा सानैदेखि पत्रकारितामा रुचि हुन गयो ।
त्रिभुवन विश्वविद्यालयको सेवा अवधि कति भयो नि ?
म त्रिभुवन विश्वविद्यालयमा विगत १२ वर्षदेखि कार्यरत छु । त्यसअघि म विसं २०४१–४२ देखि पत्रकारिता क्षेत्रमा कार्यरत छु । मैले छलफल, दृष्टि, बुधवारलगायत विभिन्न साप्ताहिक, हिमाल पाक्षिक र अन्य पत्रपत्रिकामा काम गरेको छु । यसका साथै मैले घटना र विचार रेडियो कार्यक्रम पनि सञ्चालन गरेको छु । त्यसपछि पनि म कुनै न कुनै रुपमा मिडियामा काम गरिरहेको छु । मैले रेडियो नेपालमा मानव अधिकार शिक्षा कार्यक्रम पनि सुरु गरें र सञ्चालन गरें ।
त्रिविमा प्रवेश गर्नुभएको कति भयो नि ?
पत्रकारिता क्षेत्रमा काम गर्दा गर्दै त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापकको परीक्षा दिएँ , त्यसबेला नेपाल टेलिभिजनको कार्यकारी अध्यक्ष थिएँ, त्यो राजनीतिक नियुक्ति थियो, मलाई प्रतिस्पर्धा गर्न मन लाग्यो । त्रिवि सेवा आयोगको तीन घण्टा लामो परीक्षा र त्यसपछिको अन्तर्वातामा सहभागी भएर उत्तीर्णहरुको सूचीमा नाम निकालेर त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापक बनेँ ।
प्रधानमन्त्रीको प्रेस सल्लाहकार पनि हुनुभयो हैन ?
हो म के।पी। शर्मा ओली ज्यु यसअघि प्रधानमन्त्री हुनु हुँदा उहाँको प्रेस सल्हाकारमा नियुक्त भएको थिएँ ।
पत्रकारिता क्षेत्रमा लामो समयदेखि अनवरत सक्रिय हुनुहुन्छ । यो क्षेत्र यथास्थितिमा नै रहनु ठिक छ कि यसलाई परिमार्जन गर्न जरुरी भइसक्यो ?
नेपाली पत्रकारिताका धेरै पक्षहरुमा सुधार जरुरी छ । पत्रकारिता शिक्षामा पनि त्यही हो । राम्रो पत्रकारिताका लागि स्तरीय पत्रकारिता शिक्षा चाहिन्छ । समयसन्दर्भ अनुसार हामीले पढाउनु पर्छ । पत्रकारिता शिक्षा भनेको पत्रकारिताको उन्नयनको लागि सुरु भएको हो । कोर्षमा पनि समयसन्दर्भ अनुसारका विषयवस्तुहरु समावेश गर्नुपर्छ । हामीले मानव सञ्चार र आमसञ्चार भित्र पत्रकारिता शिक्षालाई पनि अघि बढाउने हो । आमसञ्चार पत्रकारितामा मात्र सीमित हुँदैन, यसका विविध आयामहरु छन । पत्रकारिताको रिपोर्टिङ र एडिटिङमा मात्र सीमित नभएर विज्ञापन, पब्लिक रिलेशन, विकास सञ्चार, रणनीतिक सञ्चार, सिनेमा उधोग आदि सञ्चारका विविध आयामहरुका विषयमा अध्ययन अनुसन्धान गर्नु पर्दछ ।
पत्रकारिता विषयमा अध्ययनरत पत्रकारलाई यहाँ के सुझाव छ ?
पत्रकारिताका विद्यार्थीहरुले आफ्नो ज्ञान, सीप र क्षमतालाई बढाउनुपर्छ । पत्रकारिता र आमसञ्चार गम्भीर विषय हो, वेवास्ता गरेर पढ्नु हुँदैन, यसको पनि आफ्नै महत्व छ, जसरी कुनै पनि व्यक्ति सञ्चार नगरी रहन सक्दैन, त्यसैगरी कुनै पनि समाज सञ्चार विना अघि बढ्न सक्दैन । यो कुरा सबैले बुझ्न जरुरी छ । अर्को कुरा, आमसञ्चार र पत्रकारिता शिक्षा अनि अभ्यास अलग विषय होइनन, मिडियाको न्यूजरुम र आमसञ्चारका क्लासरुमलाई अन्योन्याश्रित रुपमा जोड्न विशेष ध्यान दिनुपर्छ । पत्रकारिता अध्ययन गरिरहेका विद्यार्थीहरुले आफ्नो दायित्व र समाजले उनीहरुबाट गरिरहेको अपेक्षा भूल्नु हुँदैन ।