लुम्बिनी

समुदायमा सचेतना जगाउँदै जवन्ती महाउत

१० कात्तिक, बाँके । बाँकेमा अल्पसङ्ख्यक महाउत समुदायकी एक्ली जनप्रतिनिधि जवन्ती महाउत आफ्नो समुदायमा सचेतना जगाउँदै टोलबस्तीको विकासमा खटिएका छन्। महाउत समुदायको उत्थान र वडाको समग्र बस्ती विकासका लागि काम गर्ने आफूमा चाहना भएकाले अहिले समुदायमा सामाजिक सचेतना जगाउँदै जनताको काम गरिरहेको उनले बताए ।

स्थानीय तह निर्वाचन २०७९ मा जवन्ती बाँकेको डुडुवा गाउँपालिका–६ बाट महिला सदस्यमा निर्वाचित भएको हो । नेपाल कम्युनिष्ट पार्टी एमाले बाट वडा सदस्य जितेकी जवन्तीलाई उक्त पार्टीले कार्यपालिका सदस्य बनाएको थियो । कार्यपालिका सदस्य बनेपछि थुप्रै चुनौतीबीच जवन्तीले काम गर्दै आएका छन् ।

“हाम्रो समुदायलाई लोपोन्मुख अल्पसङ्ख्यक जातिमा सूचीकृत गर्नुपर्नेछ, मगन्ता बस्तीलगायत वडाका समग्र टोलको विकास गर्नुछ”, जवन्तीले भने, “कार्यपालिका बैठकमा पटक पटक हाम्रो समुदाय र बस्तीको कुरा उठाएकी छु, तर अहिलेसम्म सम्बोधन भएको छैन ।”

वर्षौंदेखि मगान्ताटोलमा बसेका महाउत सबैजसोका घर फुसका छन्, अलि ठूलो पानी पर्दा जवन्तीकै घर चुहिन्छ, अनि डुबान पनि हुन्छ । मगन्ता समुदायलाई अहिले महाउत भन्न थालिएको छ । लोपोन्मुख समुदाय महाउतलाई सूचीकृत गरिएको छैन । सूचीकृत गराएर राज्यबाट सेवासुविधा दिलाउनु जवन्तीको प्राथमिकतामा परेको छ ।

“जनता आवास कार्यक्रम पारेर फुसका घरलाई विस्थापित गर्ने काम सुरु भएको छ, बाटोघाटो बनाउने, मागेर गुजारा चलाउनेलाई आयआर्जनमा लगाउनु, शिक्षा र स्वास्थ्यमा पहुँच पु¥याउनु हाम्रो समुदायको आवश्यकता छन्”, जवन्तीले भने, “गाउँपालिकाले वडा र महाउत बस्तीका लागि बजेट तथा कार्यक्रम विनियोजन नगर्दा सोचेजस्तो काम हुन सकेको छैन ।”

जनप्रतिनिधि बन्नु अगाडि जवन्ती महाउत अन्य गाउँमा बिहे, भोज हुँदा भाँडा माझ्न जाने काम गर्थे । उनका श्रीमान् मनोहर महाउत अहिले पनि मजदुरी काम गर्दै आएको छन् । टोलमा बोल्न सक्नेमध्येकी जवन्ती जनप्रतिनिधि भइसकेपछि अब टोल र समुदायको विकासको थुप्रै चुनौती पार गर्नुपर्ने भएको छ । यो समुदायका अधिकांश ज्याला मजदुरी गरेर जीविका चलाउँछन् । मगन्ता गाउँमा मात्रै यो समुदायका एक सय १२ घर छन् । बर्सातमा बस्ती पस्ने बाटो हिलाम्य हुने गर्दथ्यो । यस वर्ष दुई लाखको बजेटमा महाउत बस्ती पस्ने सडक ग्राभेल गरिएपछि सुविधा भएको जवन्तीले बताए ।

“हाम्रोे समुदायमा धेरै समस्या छन्, समुदायको उत्थान र परिवर्तनका लागि मैले धेरै गर्नु छ”, उनले भने, “म आफू नामका लागि, पैसाका लागि राजनीतिमा आएकी होइन, मेरो समुदाय र टोलबस्तीको परिवर्तनका लागि आएकी हुँ ।”

महाउत समुदायका धेरै परिवार वर्षौंदेखि गरिबीको चपेटामा छन् । राज्यबाट उचित सम्मान गरेर गुजारा चलाउनुपर्ने पनि बाध्यता छ । नयाँ पिँढीमा निकै परिवर्तन छ । त्यो परिवर्तनलाई सबैले आत्मसात् गर्नुपर्ने अवस्था राज्यले सिर्जना गरिदिनुपर्ने जवन्तीको माग छ ।

डुडुवा–६ का वडाध्यक्ष मोहनराम मिश्रले जवन्तीलाई जनताले जनप्रतिनिधिका रुपमा पाउनु लोकतन्त्र र समावेशिताको सुन्दर पक्ष भएको बताए । जवन्तीले गाउँपालिकामा जनताको जनजीविका र सामाजिक विकासको सवालमा आवाज उठाउँदै आएको वडाध्यक्ष मिश्रले उल्लेख गरे ।