११ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने बताएका छन् ।
गैह्रआवासीय नेपाल सङ्घ (एआरएन) द्वारा आज आयोजीत गैह्रआवासीय नेपाली दिवस र वार्षिक साधारणभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रविधि र उपकरण बढ्दो भएकाले विकास गर्न नसकिने भन्ने नहुने बताएका हुन् । “नेपालमा विकासका लागि बाटाघाटा र आवश्यक पूर्वाधार बनेका छन् । अहिले दुर्गम भन्ने कुनै जिल्ला र भूभाग छैन । मिलेर काम गरेमा मुलुकलाई समृद्ध बनाउन सकिन्छ ।” प्रधानमन्त्री ओलीले आफूहरुले हतियार नचलाए पनि कसरी बिसाउनुपर्छ भन्ने जानेकाले ‘हतियार बिसाएका मात्रै हौँ’ भनेर कुनै पक्षबाट धम्की आउन नहुने पनि बताए ।
प्रधानमन्त्री ओलीले गैह्रआवासीय नेपाली सङ्घको छविलाई कायम गरी सङ्गठनलाई एकताबद्ध राख्न र ‘राजनीतिक टग अफ वार’ नगर्न आग्रह गरे । उनले सरकारको तर्फबाट सङ्घलाई कुनै हस्तक्षेप नहुने भएकाले स्वतन्त्ररुपमा काम गर्न आग्रह गर्दै भने, “म अहिले प्रधानमन्त्री छु, म देशको प्रधानमन्त्री हो । एमालेको मात्रै प्रधानमन्त्री होइन । राष्ट्रपति पनि त्यही हो, राष्ट्रपति दल विशेषको हुँदैन, राष्ट्रको प्रमुख हुन्छ । सभामुख, प्रधानन्यायाधीश सबै पद साझा पद हुन् । हामीले त्यस हैसियतले काम गर्ने हो ।”
आफू सन् १९९९ तिर मा मस्को जाँदा डा उपेन्द्र महताे, उमेन्द्र लामिछानेसँग गैह्रआवासीय नेपाली अभियानबारे कुरा भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले एनआरएनलाई पहिचान र आवश्यक सुविधान दिन सरकारले कञ्जुस्याईँ नगर्ने पनि स्पष्ट गरे ।
एआइको उपयोग गर्नुपर्छ
प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको उपयोग जीवनलाई सहज र सरल बनाउने काममा गराउन सरकार लागि पर्ने बताएका छन् । युवा सङ्घ नेपालले आज आयोजना गरेको ‘आर्टिफिसियल इन्टेलिजेन्स् (एआइ)सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ मा विज्ञसँगको संवादमा प्रधानमन्त्री ओलीले विकास, सकारात्मकता र सहज जीवनका लागि यसको उपयोग गर्नुपर्नेमा जोड दिएका हुन् ।
“विकासको तीर्खाबाट हामी ग्रस्त छौँ । त्यसका लागि डिजिटल नेपालको अवधारणा ल्याऔँ । हामीले आर्टिफिसियल इन्टेलिजेन्स्को सकारात्मक उपयोग गर्नुपर्छ ।
यसको दुरुपयोगबाट हुन सक्ने दुष्प्रभाव रोक्न सचेतना र कानुनी प्रबन्धमा पनि जानुपर्छ ।” प्रधानमन्त्री ओलीले भने, “एसइईमा धेरै विद्यार्थी अनुत्तिर्ण हुने क्रमबाट सुधार ल्याउनुछ । यस्ता क्षेत्रमा एआइको उपयोग कसरी गर्न सकिन्छ र नेपाललाई एआइ एजुकेसनको हब कसरी बनाउन भन्नेमा हाम्रो ध्यान रहेको छ ।”
उनले आटिर्फिसियल इन्टेलिजेन्स्सम्बन्धी नीति र योजना ल्याउने जानकारी पनि दिए ।