२८ कात्तिक, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारको निर्देशनलाई मान्दै लाइन काटिएका उद्योगहरुमा बिजुली जोड्ने प्रक्रिया अगाडि बढेको बताएका छन् ।
आज पत्रकार सम्मेलन गर्दै उनले २४ घण्टाभित्र लाइन काटिएका उद्योगहरुमा लाइन जोड्नु भन्ने सरकारको निर्देशन प्राप्त भएकाले सोहीअनुसार अगाडि बढिएको बताए । कार्यकारी निर्देशक घिसिङले अब उद्योगीहरुले विद्युत जोडिएको १५ दिनभित्र बक्यौता बुझाउनुको विकल्प नरहेको बताए । सरकारले नै उद्योगीहरुलाई १५ दिनभित्र बिलअनुसारको बक्यौता बुझाउनु भनेर निर्देश गरिसकेको उनको भनाइ छ ।
‘हामीले अहिलेसम्म हाम्रो बिल ठिक छ भनेर भनेका छौं । र, फेरि पनि १५ दिनभित्र भुक्तानीका लागि त्यही बिल पठाएका छौं । त्यही बिलअनुसारको बक्यौता उहाँहरूले तिर्नुपर्छ,’ बुधबार प्राधिकरणको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने ।