बाग्मती

प्रदेश सरकार संस्थागत विकास र नीतिगत सुधारमा केन्द्रित छ : मुख्यमन्त्री लामा

२८ कात्तिक, बागमती । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेश सरकार संस्थागत विकास र नीतिगत सुधारमा केन्द्रित रहेको बताएका छन् ।

प्रदेश सरकारको सय दिनको उपलब्धि पत्रकार सम्मेलन गरी आज उनले सार्वजनिक गरे । आफ्नो नेतृत्वमा सरकार गठन भएयता सय दिनमा सरकारकोे संस्थागत विकास र नीति निर्माणमा महत्वपूर्ण उपलब्धि हासिल भएको जिकिर उनले गरे । उनले यस अवधिमा सरकारले महत्वपूर्ण तीनवटा ऐन जारी गराई कार्यान्वयनमा ल्याउन सफल भएको दाबी गरे ।

उनले प्रदेश सरकारका मन्त्रालय तथा मातहतका निकायको कार्यसम्पादन प्रभावकारी बनाउन मुख्यमन्त्री र मन्त्रीहरुबीच कार्यसम्पादन करार सम्झौता गरी प्रगति समीक्षाको सुरुआत गरिएको बताए । उनले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका लागि दीर्घकालीन सोचसहित सरकारले दोस्रो आवधिक योजना कार्यान्वयनमा ल्याएको उल्लेख गरे ।

हालैको प्राकृतिक विपद्को समयमा क्षतिग्रस्त भौतिक पूर्वाधार मर्मतसम्भारका लागि द्रुत प्रतिकार्य टोली गठन गरी काम भइरहेको बताउँदै मुख्यमन्त्री लामाले बाढी पहिरोका कारण अवरुद्ध अधिकांश सडक मर्मतसम्भार गरी सञ्चालनमा ल्याइएको बताए ।