३ मङ्सिर, कञ्चनपुर । कृष्णपुर नगरपालिका–१ भेटघाटफाँटाका ३३ वर्षीय निर्मला लुहारको परिवार कठयाङुग्रीदो जाडोमा एकसरो लुगाको सहारामा दुई दिनदेखि खुला आकासमुनि बस्न बाध्य छ । घरका सबै सामग्री आगलागीमा जलेर नष्ट भएपछि लुहार परिवारमाथि चरम समस्या परेको हो ।
“शनिबार घरभित्र बालबालिका पढ्दै थिए,” निर्मलाले भने, “म घर नजिकै रहेको सानो कटेरोमा खान बनाउँदै थिए, एक्कासी कच्चि घरको माथिल्लो तलामा आगो सल्किएको देखियो । आगोको मुस्लो देखिएपछि हतपत बालबालिकालाई बाहिर निकाले, एकै छिन पुरै घरभित्र आगो सल्कियो, सामान केही निकाल्न पाइएन ।”
स्थानीय बासिन्दाले आगलागी भएको थाहा पाएपछि आगो निभाउन सहयोग गरेसँगै नजिकै रहेका अन्य घर भने जोगिएका छन् । विद्युत् चुहिएर सो आगलागी भएको निर्मलाको भनाइ छ । उनका श्रीमान्सहित घरमालिक हरिलाल लुहार परिवारसहित रोजगारीका लागि भारत गएका छन् ।
डेल्धुराको रूपालबाट थातथलोको खोजीमा भौतारिदै निर्मलाको परिवार केही वर्षअघि हरिलालको बाँझो खाली घरमा बस्दै आएका थिए । उनी तीन साना छोरासँग भेटघाट गाउँमा बस्दै आएका छन्। घरभित्र राखेको सबै सामान जलेपछि चिसोमा खुलाआकास आगोबालेर बिताएको उनले बताए । छिमेकीसँग खाद्यान्नको जोहो मिलाई छाक टारेको उनले बताए।
“गाउँ नजिकैको विद्यालयमा छोरा पढ्दै आएका थिए,” निर्मलाले भने “कापी किताब, पोशाक सबै जलेपछि विद्यालय जान पाएका छैनन्, चिसोमा बस्नु पर्दा बिरामी पर्ने जोखिम छ ।” दातृ निकायलाई खाद्यान्न र ओढ्ने–बिछ्याउने कपडाको जोहो मिलाई दिन उनले आग्रह गरे । आगलागी भएपछि प्रहरी बाहेक कोही पनि हालचाल सोध्नसमेत नआएको उनको गुनासो छ ।