५ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गत आर्थिक वर्ष कुल ६४ लाख ६२ हजार रुपैयाँ बराबरको तलब, भत्ता तथा अन्य सुविधा लिएका छन् । केन्द्रीय बैंकका गभर्नर अधिकारीले एक वर्षमा करिब ४५ लाख रुपैयाँ बराबरको अन्य भत्ता तथा सुविधासहित सो रकम बराबरको लाभ लिएका हुन् ।
राष्ट्र बैंकले मंगलबार प्रकाशन गरेको वार्षिक प्रतिवेदनअनुसार गभर्नर अधिकारीले १६ लाख ३२ हजार रुपैयाँ तलब र ४८ लाख ३० हजार रुपैयाँ भत्ता तथा सुविधासहित सो रकम बराबरको लाभ लिएका हुन् । अधिकारीले सञ्चालक समितिको बैठकमा सहभागी भएवापत ३ लाख ३३ हजार रुपैयाँ भत्ता बुझेका हुन् ।
गत आवमा डेपुटी गभर्नर डा। निलम ढुंगाना तिम्सिनाले १४ लाख ६० हजार रुपैयाँ तलब लिएकी छन् । उनले सञ्चालक समितिको बैठक भत्तावापत २ लाख ९७ हजार बुझेको प्रतिवेदनमा उल्लेख छ । ४५ लाख ५८ हजार रुपैयाँ भने अन्य भत्ता लिएको प्रतिवेदनमा जनाइएको छ ।
अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रले अन्य सुविधा र भत्ता शीर्षकमा ४० लाख ७० हजार बुझेका छन् । उनले तलबको रुपमा १४ लाख ६० हजार ४०० रुपैयाँ बुझ्दा सञ्चालक समितिको बैठक भत्ताका रुपमा ३ लाख १५ हजार पाएका छन् ।