१६ मङ्सिर, अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा सामुदायिक विद्यालयमा अध्ययनरत अति विपन्न विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको छ ।
पहिलो पाइला नेपाल बुटवल शाखाले जिल्लाको छत्रदेव गाउँपालिका–३ अन्तर्गतका पाँच सामुदायिक विद्यालयका तीन सय एकजना अति विपन्न विद्यार्थीलाई न्यानो कपडासहित शैक्षिक सामग्री वितरण गरिएको शाखाका अध्यक्ष सन्तोष बन्जाडेले जानकारी दिए ।
ट्र्याकसुट, टोपी र मोजा पाएपछि विद्यार्थीहरु पनि खुसी भएका छन् । १२ जना बालबालिकालाई भने झोलासमेत प्रदान गरिएको थियो । वडा नं ३ का जगतमाता आधारभूत विद्यालय, श्रीकृष्ण आधारभूत विद्यालय, अमर आधारभूत विद्यालय, जनशान्ति आधारभूत विद्यालय र दीप आधारभूत विद्यालयका ती विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको अध्यक्ष बन्जाडेको भनाइ छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ, वडा नं ३ का अध्यक्ष तेजप्रसाद खनाल, पहिलो पाइला नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष आयुष पौडेल, समाजसेवी पशुपति पाण्डेलगायत उपस्थित थिए ।