विचार/ब्लग

मिथिलामा विवाहपञ्चमी महोत्सवको रौनक

शीतलप्रसाद महतो / त्रेतायुगमा मर्यादा पुरुषोत्तम् राम र आदर्श नारी सीताबीच भएको वैवाहिक महोत्सवको स्मरण गर्दै प्रत्येक वर्ष जनकपुरधाममा विवाहपञ्चमी पर्व मनाउने गरिन्छ । यसवर्ष मङ्सिर १६ गतेदेखि सुरु भएको विवाहपञ्चमी मङ्सिर २२ गतेसम्म सञ्चालन हुनेछ । त्रेता युगको झल्को दिने विवाहपञ्चमी महोत्सवको रौनक यतिखेर नेपाल र भारतका सम्पूर्ण मिथिला क्षेत्रमा देखिएको छ । विवाहपञ्चमी महोत्सवमा सहभागी हुन नेपाल तथा छिमेक मुलुक भारतका विभिन्न स्थानबाट हजारौँ साधुसन्त तथा दर्शनार्थी जनकपुरधाम आउने क्रम जारी छ । आएका दर्शनार्थी बाह्रबिघा मैदान, जानकी मन्दिरको प्राङ्गण, सडकपेटी, विभिन्न मठमन्दिर, कुटी तथा संघसंस्थामा बास बसेका छन् ।

त्रेतायुगमा अयोध्याका राजा दशरथपुत्र भगवान श्री राम र जनकपुरका राजा जनकपुत्री माता सीताको विवाह यही जनकपुरमा भएको दिनलाई सम्झँदै प्रत्येक वर्ष अयोध्याबाट जनकपुर जन्ती आउने र विवाह महोत्सव सम्पन्न गर्ने चलन रहँदै आएको छ । यस अवसरमा प्रत्येक वर्ष झैँ यस वर्ष पनि अयोध्यासहित भारतका प्रसिद्ध तथा प्रख्यात् मठमन्दिरका महन्त, जोगी सन्न्यासी, हजारौँ साधु, सन्त, महात्मा सो विवाह महोत्सवमा उपस्थित हुनका लागि जनकपुरधाममा आइसक्नुभएको छ भने कतिपय आउने क्रम जारी छ । सयौँ रथ, बाजागाजा, नाचसहित जन्ती आउने चलन छ । सोहीअनुरूप विगत केही दिनदेखि अयोध्याबाट हजारौँ जन्ती तथा दर्शनार्थी जनकपुर आउने क्रम जारी छ । प्रत्येक वर्ष महोत्तरीको मटिहानी हुँदै जन्ती, लावालस्करसहित जनकपुर आउने गर्छन् भने मटिहानीस्थित लक्ष्मीनारायण मठमा पनि विशेष पूजाअर्जना गर्ने चलन छ ।

विवाह पञ्चमी महोत्सव भव्य र सभ्यरूपमा मनाउने

मार्गशीर्ष शुक्ल पञ्चमीमा जनकपुरधाममा मनाइने विवाहपञ्चमी महामहोत्सवलाई यो वर्ष प्रदेश सरकारले भव्य रूपमा मनाउने भएको छ । मङ्सिर १७ गते भारतको अयोध्याबाट आउने जन्तीलाई भव्य स्वागत गरिनेछ । जन्तीलाई महोत्तरीको मटिहानी आइपुगेपछि मटिहानी नगरपालिकाले स्वागत गर्नेछ । स्वागत तथा रात्रिको भोजन र आवासको व्यवस्थापन पनि मटिहानी नगरपालिकाले गर्ने तयारी गरेको छ । मङ्सिर १८ गते मटिहानीबाट हिँड्ने जन्तीलाई महोत्तरीकै जलेश्वर नगरपालिकाले स्वागत गरेर चिया तथा खाजाको प्रबन्ध गर्नेछ भने सोही दिन पिपरामा जन्तीलाई भोजनको व्यवस्थापन गरिनेछ । सोही दिन साँझ जनकपुरधाम आइपुग्ने जन्ती बाह्रबिघा रङ्गभूमि मैदानमा आयोजना गरिने धनुष यज्ञमा सहभागी हुने कार्यक्रम छ । त्यसैगरी मङ्सिर २१ गते जानकी मन्दिरको प्राङ्गणमा रातमा मैथिली परम्परानुसार भगवान राम र माता सीताको प्रतीकात्मक विवाह उत्सवको कार्यक्रम हुन्छ ।

मङ्सिर १६ गते नगर दर्शनबाट सुरु हुने विवाहपञ्चमी महोत्सवअन्तर्गत १७ गते फूलबारी लीला, १८ गते धनुष यज्ञ, १९ गते तीलकोत्सव, २० गते मटकोर तथा २१ गते विवाह उत्सव र २२ गते रामकलेवाका कार्यक्रम रहेका छन् । जनकपुरधामस्थित जानकी मन्दिरलाई मिथिला दरबारका रूपमा लिइन्छ भने राम मन्दिरलाई अयोध्या दरबारका रूपमा लिइन्छ । हाल जानकी मन्दिर तथा राम मन्दिरलाई बेहुलीझैँ सिङ्गारिएको छ । जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले छोरीको बिहेको आयोजन गरिरहेको जस्तै अनुभव हुन्छ । उहाँले बिहेमा माता सीताको पिता राजा जनकको भूमिका निर्वाह गर्नुहुन्छ । रामजानकी विवाह महोत्सवका लागि महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठ अगाडि रहेको लक्ष्मी सागरबाट विवाहको वेदीको माटो खन्ने चलन रहेको छ । विवाहपञ्चमी महोत्सवका लागि अयोध्याबाट दुई दिन पहिलेदेखि नै साधु, सन्त, महात्मा र जन्ती नेपाल प्रवेश गर्न थालेका छन् । अयोध्याबाट आउने जन्ती पहिले महोत्तरीको मटिहानी प्रवेश गर्ने हुँदा मटिहानीवासीले जन्तीलाई फूलमाला, अबिरलगायतले स्वागत गर्ने चलन छ ।

महोत्तरी, धनुषालगायत मिथिला क्षेत्रमा विवाहपञ्चमी उत्सव भएपछि मात्रै स्थानीयले आफ्ना छोराछोरीको विवाह गर्ने परम्परा रहेकाले पनि यो उत्सव सबैले धुमधामसँग मनाउने गर्छन् । विवाहपञ्चमीका अवसरमा प्रत्येक वर्ष जनकपुरधाममा लाखौँ भक्तजनले उत्सवमा सहभागिता जनाउने गर्छन् । विवाहपञ्चमीमा मिथिलाको लोप हुन लागेको कला संंस्कृतिहरूको झझल्को दिने जस्ता सांस्कृतिक कार्यक्रमहरूमा हेर्न पाइन्छ । यसमा बालबालिकाहरूलाई, राम, सीता, लक्ष्मण बनाई नाटक प्रदर्शन, झाँकी, नाचागान, भजनकीर्तन र भगवानका रूपमा पूजाआजासमेत गरिन्छ । यसले श्रद्धालुलाई निकै उत्साहित बनाउने गर्छन् । बाहिरबाट आएका श्रद्धालु भक्तजनका लागि विभिन्न संघसंस्था तथा स्थानीय क्लबले निःशुल्क आवास, भोजन, उपचार र माइकिङको ठाउँ ठाउँमा आयोजन गरेको छ ।

नगर दर्शन

त्रेता युगमा अयोध्यानरेश दशरथपुत्र मर्यादा पुरुषोत्तम भगवान राम र मिथिलाका शिरध्वज राजर्षी जनकपुत्री माता जानकीको विवाह भएको स्मरणमा साताव्यापी रूपमा मनाइने विवाहपञ्चमीको पहिलो दिन मङ्सिर १६ गते नगर दर्शन विधि गरिन्छ । जसमा राम लक्ष्मणको प्रतीकस्वरूप बनाइएको राम लक्ष्मणलाई जनकपुरधाम नगरदर्शन गराइन्छ ।

फूलबारी लीला

विवाहपञ्चमी महोत्सवको दोस्रो आकर्षण भनेको फूलबारी लीला हो । दोस्रो दिन मङ्सिर १७ गते फूलबारी लीलामा राम जानकीको पहिलो भेट गराइन्छ । त्रेता युगमा भगवान रामको पहिलो भेट भारतको गिरिजा माई मन्दिरको फूलबारीमा भएको रामायणमा उल्लेख छ । यो विधि जानकी मन्दिरको छेउमै रहेको राम जानकी विवाह मण्डपमा रहेको फूलबारीमा प्रत्येक वर्ष गरिँदै आएको छ । त्रेता युगमा गुरु विश्वामित्रसहित धनुषयज्ञमा अयोध्याबाट मिथिलाको राजधानी जनकपुरधाममा भाग लिन आएका राम र लक्ष्मण फूलबारीमा घुम्न जाँदा राम र सीताको नजर एक अर्कामाथि परेको किम्बदन्ती छ । जहाँ राम र जानकी एक अर्काप्रति आकर्षित भएको र जानकीले आफूलाई राम जस्तै बर पाउन कामना गरेको भन्ने मान्यता रहेको छ ।

धनुष यज्ञ

तेस्रो दिन मङ्सिर १८ गते धनुष यज्ञ सम्पन्न हुन्छ । सीताले शिवजीको पिनाक धनुषलाई बायाँ हातले उठाएर लिपपोत गरेको देख्दा राजा जनक यो धनुषमा प्रत्यञ्चा चढाउन सक्ने वीर पुरुषसँगै आफ्नो छोरीको बिहे गरिदिने बचन दिएकाले धनुष यज्ञको आयोजन गरिएको मानिन्छ । त्रेता युगमा सो धनुष यज्ञको आयोजन रङ्गभूमि मैदान १२ विघामा भएको मानिन्छ । सोही स्मरणमा धनुष यज्ञ विधि सम्पन्न गरिन्छ ।

तिलकोत्सव विधि

महोत्सवको चौथो दिन मङ्सिर १९ गते राम मन्दिरको प्राङ्गणमा हजारौँको भीडका बीच तिलकोत्सव विधि सम्पन्न हुन्छ । तिलकोत्सवमा महन्थ राम तपेश्वर दास वैष्णवको नेतृत्वमा जानकी मन्दिरबाट पाहुना राम मन्दिरमा आउँछ । जहाँ जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव र राम मन्दिरका महन्थ राम गिरीबीच अङ्कमाल समधी मिलान हुन्छ । तिलकोत्सवमा सहभागी महिलाले रामजानकीको बिहेका गीत गाउँछन् भने हाँस्य परिहासको माहोलसमेत हुन्छ ।
समधी मिलान कार्यक्रममा जानकी मन्दिरका महन्थ, उत्तराधिकारी महन्थ, पुजारीहरु सहभागी हुने गर्छन् भने राम मन्दिरबाट महन्थ स्वयं, गुठी संस्थानका प्रतिनिधि तथा स्थानीय युवा क्लबका प्रतिनिधिहरु सहभागी हुन्छन् ।

मटकोर विधि

महोत्सवको पाँचौँ दिन मङ्सिर २० गते मटकोर विधि हुन्छ । मटकोर विधिमा माता जानकीको मटकोरका लागि मिथिलाका महिलाले जनकपुरधामकै पवित्र सरोवर रहेको गङ्गासागर पोखरीबाट साँझको समयमा मिथिलाको परम्पराअनुसार गीत गाउँदै माटो खनेर ल्याउने गर्छन । सोही माटोबाट विवाहका लागि वेदी तयार गरिन्छ ।

स्वयम्बर विधि

छैटौँ दिन मङ्सिर २१ गते ऐतिहासिक रङ्गभूमि मैदानमा स्वयम्बर विधि सम्पन्न भएको छ । सो दिन राति वैदिक परम्पराअनुसार वैवाहिक कार्यक्रम सम्पन्न हुनेछ । स्वयम्बरका लागि राम मन्दिर तथा जानकी मन्दिरको डोला रङ्गभूमि मैदान १२ बिघा पुग्छन् । डोलाको दर्शन र रामजानकीको स्वयंबर हेर्न बाह्रबिघा मैदानमा हजारांैको सङ्ख्यामा दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । स्वयंबर पश्चात राम र जानकीको डोलालाई नगर परिक्रमा गर्दै जानकी मन्दिरमा पुगेर साँझदेखि विवाहको काम शुरु हुन्छ । राम र सीताको विवाहको लागि जानकी मन्दिर प्राङ्गणमा विवाह मण्डप अर्थात मरबा बनाइएको हुन्छ । राम र जानकीको विवाहको लागि जानकी मन्दिरलाई भव्य रुपमा सिङ्गारिएको छ । वैवाहिक कार्यक्रममा झाँकी कीर्तणसहितको सांस्कृतिक कार्यक्रमहरु आयोजन हुने गर्दछ । जसको अवलोकनको लागि हजारौं दर्शनार्थीको जानकी मन्दिरमा भीड लाग्ने गर्दछ । वैवाहिक कार्यक्रममा भगवान रामका बुबा राजा दशरथको भूमिकामा राम मन्दिरका महन्थ राम गिरी र सीताको पिता राजा जनकको भूमिकामा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवले भूमिका निर्वाह गर्दछन् ।

रामकलेवा

विवाहपञ्चमीको सातौँ दिन मङ्सिर २२ गते भारतको अयोध्याबाट जन्तीका रूपमा आएका साधु सन्तहरूलाई भोजन गराउँदै विदायी गरिन्छ । जसलाई रामकलेवा भनिन्छ । राम कलेवामा बेहुला पक्षबाट आएकाहरूलाई गालीगलौज गर्नेसमेत परम्परा छ । मन्दिरका पुजारी तथा मिथिलाका नारीहरू गीतकै माध्यमले गाली गर्ने गर्छन् ।
विवाह मोहत्सव हेर्न आउने श्रद्धालुका लागि विभिन्न खाले मनोरन्जनको समेत व्यवस्था गरिएको हुन्छ । महोत्सवलाई व्यवस्थित र भरपर्दो सुरक्षित बनाउन स्थानीय सुरक्षा समितिले विशेष रणनीतिसमेत बनाएको हुन्छ ।