१९ मङ्सिर, तनहुँ । जिल्लाको बन्दीपुर गाउँपालिका–५ स्थित ऐतिहासिकस्थल चन्द्रकोट गढीलाई पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्न लागिएको छ । गाउँपालिकाले गढीलाई पर्यटन प्रवर्द्धन गर्ने, भ्रमण वर्ष २०२५ मा ‘रुट लिङ्क’ गर्ने, आगामी पुस ७ गाउँसभा बैठक बस्ने, डुम्रे चिसोपानी र बन्दीपुरमा ‘आउटडोर जिम’ का सामान राख्नेलगायत काम थालेको हो ।
बन्दीपुर गाउँपालिकाको चन्द्रगढीमा बसेको सातौँ कार्यपालिका बैठकले उक्त निर्णय गरेको गाउँपालिकाका प्रवक्तासमेत रहनुभएका वडा नं १ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए । बन्दीपुर बजारबाट पूर्वतर्फ पर्ने बाहुनभञ्ज्याङ हुँदै खानीगाउँसम्म सवारीसाधनमा पुगी त्यसपछि २० मिनेट पैदल हिँडेपछि चन्द्रकोट पुग्न सकिन्छ । साथै पृथ्वीराजमार्गको वडा नं ५ स्थित याम्पाबाट थुम्का कोरिखा, बाहुनभञ्ज्याङ हुँदै चन्द्रकोटगढीमा पुग्न सकिन्छ । पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा चन्द्रकोट पर्न थालेपछि यसको महत्व बढ्दै गएको छ ।
इतिहासको अनुसन्धान एवं अध्ययन गर्नेहरूका लागि चन्द्रकोट विशेष महत्वको स्थान भएकाले यहाँको प्रचारप्रसार गरी संरक्षण र प्रवर्द्धनमा स्थानीय निकाय जुटेको गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए । पर्यटकीय गन्तव्यका रूपमा विस्तार गर्नका लागि गाउँ कार्यपालिका बैठक आयोजना गरी यस ठाउँको विकास गर्न योजना बनाइएको उनले उल्लेख गरे ।
बैठकले आर्थिक वर्ष २०८०/८१ को आन्तरिक लेखा परीक्षण प्रतिवेदन आन्तरिक लेखापरीक्षक श्रीराम पौडेलले गाउँपालिका अध्यक्ष थापा र प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यलाई हस्तान्तरण गरेको थियो । गाउँपालिकाको पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसारका लागि यसअघि पनि सिद्धगुफामा कार्यपालिका बैठक बसेको थियो ।
तीस घरधुरीमा खानेपानी
त्यसैगरी, बन्दीपुर–६ हुस्लाङ माझथरमा ‘एक घर एक धारा’ योजनाअनुरुप तीस घरमा खनेपानीका धारा जडान गरी पानी वितरण गरिएको छ । स्थानीय माझथर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामार्फत १० लाखको लागतमा खानेपानीका धारा निर्माण गरिएको हो ।
प्रत्येक घरमा खानेपानीका धारा जडानपश्चात् स्थानीयले स्वच्छ पानी पाएका छन्भने दैनिकी सहज बनेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष थापाले बताए। उनले भने, “आफ्नो कार्यकालमा बन्दीपुरका सबै घरमा खानेपानीको धारा पुर्याउने गरी काम भइरहेको छ ।”