१९ मङ्सिर, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका ५८ वर्षीय रामा राना जन्मजात दृष्टिविहीन छन् । उनकी श्रीमती सुदामा राना पनि दृष्टिविहीन छन् । उनीहरूको परिवारमा अहिले दुई जना मात्र छन् ।
दुवै जनाले आफ्नो दैनिकी सामान्य व्यक्ति जस्तै गरी बिताइरहनुभएको समाजसेवी दिलबहादुर साउदले बताए । जन्मदेखि नै फरक क्षमता भएका रामा र सुदामा समुदायका लागि प्रेरणा बनेका छन् ।
कहिलेकाही फुर्सदका बेला छिमेकीले खाना बनाइदिने गरेका रामाले बताए । “छिमेकीलाई फुर्सद नभएको बेला दम्पती मिलेर खाना बनाएर खाने गर्छौँ । घर छेउमा बनाइएको नल्का धारा मा भाँडाकुँडा धुने, कपडा धुनेलगायत काम गर्छौँ”, उनले भने ।
“सुरु सुरुमा खाना बनाउन, सामान खोज्न, कपडा धुन निकै अप्ठेरो हुन्थ्यो”, सुदामाले भने, “अहिले बानी परिसक्यो, सबै कार्य अन्दाजका भरमा गर्दै आएका छौँ ।” छामेर कुन दरको नोट पैसा हो भन्नेबारे पनि जान्ने गरेको उनले बताए ।
रामाका अनुसार छ धुर जग्गामा बनेको घर मात्रै सम्पत्तिका रूपमा रहेको छ । उक्त घर छिमेकीले आर्थिक सहयोग सङ्कलन गरी बनाइदिएका उनको भनाइ छ । “भएको सबै जग्गा परिवारले पहिला नै बेचेर सक्नुभयो । जग्गा भएको भए अधिया लगाएर पनि वर्षभरी खान पुग्थ्यो”, उनले भने ।
रामा र सुदामा दुवैले नगरपालिकाबाट अपाङ्गता भत्ताबापतको रकम बुझदै आएको छन् । उक्त रकमबाट जीविकोपार्जन भइरहेको रामाले बताए । रामाले भर्रा झाँक्रीको काम गर्ने भएकाले अन्नको जोहो त्यसबाट हुन्छ । “केहीले घरमा आएर भर्राबाट हेराउने गर्नुहुन्छ । केहीले घरमा लगेर काम गराउनुहुन्छ”, उनले भने । सानैदेखि भर्राको काम गर्दै आएको उनले बताए ।
विसं २०५२ मा विवाहबन्धनमा बाँधिएका दुवै जनाका सन्तान भने छैनन् । असल छिमेकी भएकाले जीवन जिउन सहज भएको राना दम्पतीको भनाइ छ । नगरपालिकाले भत्ता दिने बाहेक सरकारी तथा गैरसरकारी निकायबाट अन्य कुनै पनि सहयोग नपाएको रामाले बताए । वृद्ध अवस्थामा दैनिकी सञ्चालनमा समस्या हुने भन्दै स्थानीय सरकारले वृद्ध अवस्थामा अपाङ्गता भएका व्यक्तिलाई सहज हुने नीति ल्याएर उचित व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए ।
राना दम्पती दृष्टिविहीन भए पनि सामान्य व्यक्ति सरह जीवन निर्वाह गरिरहेका स्थानीय समाजसेवी साउदले बताए । “दुवै जनाले जीविन चलाउन गरेको सङ्घर्षबाट अरूले पनि पाठ सिक्नुपर्छ”, उनले भने, “जीवन जिउने कला राना दम्पतीले समाजलाई सिकाएका छन्, उहाँहरू समाजका लागि प्रेरणाका स्रोत हुन् ।”