२० मङ्सिर, अमरगढी । डडेल्धुरा काम गर्ने जाँगर भए आफ्नै माटोमा मनग्ये कमाउन सकिने दृष्टान्त यहाँकी एक युवतीले प्रस्तुत गरेकी छन् । बाइस वर्षीया पूजा बोहराले ठेलामा व्यापार गरेर मासिक ४० हजार आर्जन हुने गरेको बताए।
अमरगढी नगरपालिका–२ नयाँ बस्तीकी पूजाले ठेलामा मोमो, चाउमिन, पकौडा, पानीपुरी चटपटे र छोइला बेचेर मासिक ४० हजार आर्जन गर्दै आएको हो ।
मध्यम वर्गीय परिवारमा जन्मिएकी पूजाले धेरै हण्डर र ठक्कर खाएर यो अवस्थामा पुगेको बताए । सत्र वर्षको उमेरमा बिहे गरेकी उनले चार वर्ष धेरै सङ्घर्ष गरे। छ महिना यता ठेलामा व्यापार थालेकी उनी दैनिक १२ घण्टा काम गर्र्छन् । उनको मासिक आम्दानी घरखर्चमा मात्र सकिँदैन उनले बचत पनि गरेका छन् ।
श्रीमान्ले अरु सबै कुरामा साथ र सहयोग गरे पनि यो ठेलामा भने उनी बिहानदेखि साँझसम्म एक्लै छन् । सबै सामान आफैँले जुटाए । अनि सबै परिकार आफैँ बनाउन उनलाई दिनभर भ्याइनभ्याइ हुन्छ । महिलाहरु चुलोचौकोमै सीमित हुँदा आर्थिक सामाजिक र राजनीतिकरुपमा पछि परेका उनको बुझाइ छ ।