३ पुस, पाँचथर । फिदिममा यही पुस ६ गतेदेखि सञ्चालन हुने फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ
प्रतियोगिता आयोजक फिदिम स्पोर्टिङ क्लबका अनुसार विजेता टोलीले १० लाख ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेता टोलीले पाँच लाख पाँच ५५५ पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितामा ‘ए’ डिभिजनका चारसहित १० फुटबल टोलीले सहभागिता जनाउने तय भएको आयोजक क्लबका अध्यक्ष दीपेन्द्र थापा मगरले जानकारी दिनुभयो ।
प्रतियोगितामा ‘ए’ डिभिजनका मच्छिन्द्र फुटबल क्लब, न्यू रोड टिम एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड र विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब सहभागी हुने भएका छन् । यस्तै आयोजकसहित विराटनगर सिटी फुटबल क्लब मोरङ, झापा–११ फुटबल क्लब झापा, न्यू स्टार क्लब सुनसरी, सहलेश युवा क्लब सिरहा र करसाङ्ग फुटबल क्लब भारत सहभागी हुने भएका छन् ।
आयोजकले प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेका छन । त्यसअनुसार उद्घाटन खेलमा पुस ६ गते आयोजक फिदिम स्पोर्टिङ क्लब र करसाङ्ग फुटबल क्लब भारतका बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल पुस १५ गते हुनेछ ।
प्रतियोगितामा विजेता र उपविजेता टोलीका अतिरिक्त सर्वोत्कृष्ट खेलाडी तथा विधागत रुपमा उत्कृष्ट खेलाडीसमेत पुरस्कृत हुने छन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले एक थान इभी स्कुटर प्राप्त गर्ने छन्भने सर्वाधिक गोलकर्ताले १५ हजार, प्रत्येक खेलका उत्कृष्ट खेलाडी म्यान अफ दी भ्याचले १० हजारका दरले पुरस्कार प्राप्त गर्ने छन् ।
यस्तै विधागततर्फ उत्कृष्ट ठहरिएका गोलरक्षक, रक्षक, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र उदयमान खेलाडीले १० हजारका दरले पुरस्कार प्राप्त गर्ने अध्यक्ष थापा मगरले जानकारी दिए ।
विसं २०६५ देखि सञ्चालित प्रतियोगिता फिदिम माध्यमिक विद्यालयको खेलमैदान भत्किएपछि २०७६ सालबाट स्थगन भएको थियो । छ वर्षपछि आयोजकले प्रतियोगितालाई निरन्तरता दिन लागेका हुन् । किराँत धर्मगुरु तथा सोह्रौँ राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको साधनास्थल लब्रेकुटी, समाधीस्थल सिलौटीसहितका धार्मिक पर्यटकीय गन्तव्यको प्रचार गर्ने, स्थानीय खेलकुदको विकास गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालित छ । प्रतियोगिताको मुख्य प्रवद्र्धक फिदिम नगरपालिका रहेको छ ।
प्रतियोगिता सञ्चालनका लागि आयोजकले फिदिम माध्यमिक विद्यालयको खेलमैदानलाई मर्मत गर्नुका साथै बाँसको प्रयोग गरी दर्शकका लागि अस्थायी प्यारापिट निर्माण गरेका छन् । प्यारापिटमा पाँच हजार दर्शक बस्न सक्ने आयोजकको भनाइ छ । खेलमैदानको व्यवस्थापनसहित प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् ।