स्वास्थ्य

चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण

३ पुस, रौतहट । जिल्लाको चन्द्रपुर नगरपालिकास्थित चन्द्रनिगाहपुर नगर अस्पतालमा ट्रमा सेन्टर सञ्चालन गर्न आवश्यक उपकरण हस्तान्तरण गरिएको छ । लायन्स अन्तर्राष्ट्रिय क्लब र चन्द्रपुर नगरपालिकाको साझेदारीमा अस्पताललाई रू एक करोड ६० लाख मूल्य बराबरको विभिन्न उपकरण हस्तान्तरण गरिएको हो ।

पूर्वपश्चिम महेन्द्र राजमार्ग नजिक रहेको चन्द्रनिगाहपुर अस्पतालमा ट्रमा सेन्टर सञ्चालनको लागि लायन्स अन्तर्राष्ट्रिय क्लब र चन्द्रपुर नगरपालिकाको साझेदारीमा चन्द्रनिगाहपुर अस्पताललाई ट्रमा सेन्टर सञ्चालनको लागि अतिआवश्यक सामग्री हस्तान्तरण गरिएको थियो । 

‘एनेस्थेसिया’, ‘भेन्टिलेटर’, ‘ओटी टेबल सेट’, ‘ओटी लाइट सेट’, ‘आइसियु बेड’सहित ‘सेटअफ’ लगायत ट्रमाका लागि आवश्यक पर्ने दुई सयभन्दा बढी उपकरण अस्पतालमा सहयोग स्वरूप प्राप्त भएको अस्पतालका प्रमुख डा अभिनन्दन श्रीवास्तवले जानकारी दिए । 

पूर्वपश्चिम राजमार्गसँग जोडिएको जिल्लाको चन्द्रनिगाहपुरमा ट्रमा सेन्टर सञ्चालनमा आएपछि प्राकृतिक प्रकोप, दुर्घटनामा परेका बिरामीलाई उपचारमा सहज हुने चन्द्रपुरका नगरप्रमुख सञ्जयकुमार काफ्लेले बताए । लायन्स अन्तर्राष्ट्रिय क्लबले करिब रू एक करोड ६० लाख मूल्यका सामग्री हस्तान्तरण गरेपछि अस्पतालले कार्यविधि बनाएर सञ्चालनमा ल्याउने उनले उल्लेख गरे ।

सडक दुर्घटना, प्राकृतिक विपद्ले मानवको अकालमा ज्यान नजाओस् भन्ने उद्देश्यले अस्पतालमा ट्रमा सेन्टर सञ्चालनमा ल्याउन लागिएको नगरप्रमुख काफ्लेले बताए । 

लायन्स अन्तर्राष्ट्रियका प्रमुख बालकृष्ण बुर्लाकोटीले चन्द्रपुर राजमार्गसँग जोडिएकाले दुर्घटनाको जोखिम उच्च रहने भन्दै यहाँ ट्रमा सेन्टर सञ्चालन भएसँगै घाइतेले तत्काल उपचार पाउने विश्वास व्यक्त गरे । लायन्सले विभिन्न परियोजनामार्फत शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा सहयोग गर्दै आइरहेको उनले जानकारी दिए ।