विचार/ब्लग

ओली सरकार ढल्ने भारतिय ’रअ’ का पूर्व एजेण्टको दाबी आधारहिन

महेश भट्टराई/१३ डिसेम्बर २०२४ मा भारतीय पूर्व ‘रअ’ (Research and Analysis Wing–RAW) एजेण्ट लक्ष्मण सिंह विष्ट उर्फ ’लक्की विष्ट’ ले नव भारत टाईम्स पोडकाष्टमा आफ्नो अन्तरवार्ताको दौरान के.पी. शर्मा ओली नेतृत्वको वर्तमान सरकार एक महिना भित्र ढल्ने भनि गर्नु भएको दावी आधारहिन एवं कपोलकल्पित छ । सर्व प्रथम नेपालको वर्तमान सरकार ढल्ने आधारहिन भविष्यवाणी गर्ने लक्ष्मण सिंह विष्ट उर्फ ’लक्की विष्ट’ को बारेमा केहि तथ्यहरु थाहा पाउनु नितान्त जरुरी छ । लक्ष्मण सिंह विष्ट १ जुन १९८८ मा भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लामा जन्मिएर भारतीय सेना लगायत अन्य सुरक्षा संस्थाहरुमा करिब १५ वर्ष ६ महिना सेवा गरेका सेवा निवृत व्यक्ति हुन् जसले सेवा निवृतिपछि भारतीय सिनेमा उद्योगमा कथा लेखन तथा निर्माण विधामा स्थापित हुन संघर्षरत छन । हुसेन कायदी द्बारा लिखित एजेण्ट लक्ष्मण सिंह विष्टको जिवनमा आधारित “R.A.W. HitmanM The Real Story of Agent Lima” नामको पुस्तक प्रकाशन पश्चात लक्की विष्ट चर्चामा छन् । सुरक्षा फौजमा सेवामा रहंदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत विशिष्ट व्यक्तिहरुको सुरक्षामा संलग्न रहेका लक्की विष्ट सन् २०११ मा उत्तराखण्ड प्रहरीले हत्या अभियोगमा तीन वर्ष जेल जीवन व्यातीत गरी प्रमाण अभावमा अभियोग पुष्टी हुन नसकी जेलमुक्त भएका हुन् ।

पुर्व ’रअ’ एजेण्ट लक्ष्मण सिंह विष्टले अन्तरवार्ताको दौरान नेपाल विदेशी जासुस एजेण्टहरुको क्रिडा स्थलको रुपमा रहेको तथा चीन र पाकिस्तान भन्दा भारतको लागि नेपाल बढी खतरायुक्त रहेको उल्लेख गरेका छन् । साथै, उनले के.पी. ओली नेतृत्वको वर्तमान सरकार एक महिना भित्र विघट्न हुने र सरकार फेरबदलमा जासुसी संस्थाहरुको भुमिका महत्वपूर्ण हुने समेत उल्लेख गरेका छन् । ’रअ’ एजेण्ट ’लक्की विष्ट’ को उक्त दावी आधारहिन एवं सतही सुचनाहरुका आधारमा निकालिएको आधरहिन तथा तथ्यहिन विश्लेषण हो ।


करिब दुई–तिहाई सांसदहरुको समर्थन प्राप्त प्रमुख दुई ठुला दल नेपाली कांग्रेस तथा ने.क.पा. एमाले सम्मिलित के.पी. ओली नेतत्वको सरकारको संसदमा गणितिय आधार मजबुत रहेको तथा नेपाली कांग्रेस तथा ने.क.पा. एमालेका नेतृत्व वर्तमान गठबन्ध प्रति पूर्ण बफादार रही सरकारको बचाउमा लाग्नु वर्तमान गठबन्धमा सरकार कमजोर नभएको प्रमाण हो । संसदको गणितिय अवस्थालाई विश्लेषण गर्दा विपक्षी दलहरुको संसद संख्या सरकार परिवर्तनको लागि अपर्याप्त रहेको, नेपाली कांग्रेस सरकारबाट बाहिरिने अथवा नेपाली कांग्रेसबाट छुट्टिएर कुनै पनि गुट÷समुहले विपक्षी दललाई समर्थन गर्ने अवस्थामा मात्र सरकार परिवर्तनको सम्भावना रहेको तथा नेपाली कांग्रेस सरकारबाट बाहिरने अवस्था नरहेको हुंदा वर्तमान सरकार विघटन हुने सम्भावना अति नै न्यून रहेको छ । सरकार परिवर्तनको लागि प्रमुख कारक तत्व आन्तरिक घरेलु राजनीति हो र आन्तरिक राजनीतिमा विपक्षीदल अति नै कमजोर र सरकारमा प्रमुख दुई ठुलादलहरु सहभागी रहेका हुंदा पूर्व ’रअ’ एजेण्ट लक्की विष्टको अनुमान नेपालको आन्तरिक राजनैतिक अवस्थाको तथ्यपरक विश्लेषणमा आधारित नभई सतही अनुमान मात्र हो भन्ने प्रष्ट हुन्छ र उनको के.पी. ओली नेतृत्वको सरकार विघटन हुने भविष्यवाणी पूर्णत असफल हुनेछ ।


पूर्व ’रअ’ एजेण्ट लक्की विष्टले अन्तरवार्ता दिईरहंदा दक्षिण एसियाको क्षेत्रिय राजनीति तथा सुरक्षा अवस्थाको बारेमा चर्चा गर्नु अति नै आवश्यक रहन्छ । बंगलादेशमा शेख हसिना वाजेदको राजनीतिबाट बहिर्गनन पश्चातको भारत पलायन र मोहम्मद युनिसको नेतृत्वको अन्तरिम चुनाबी सरकार गठन भएपछी बंगलादेशमा भारत विरोधी गतिविधिहरु बढ्न गई भारत र बंगलादेश बीचको कुटनैतिक सम्बन्धमा समेत चिसोपना आउनु र नेपालका प्रधानमन्त्री के.पी. शर्मा ओलीको डिसेम्बर २ देखि ५ सम्म चिनको औपाचारिक भ्रमणको दौरान ‘BRI कार्यान्वयन फ्रेमवर्क’ मा सम्झौता हुनुलाई भारतीय संचार माध्यम, भारतीय राजनीतिज्ञ स्वं बुद्बिजिवीहरु समेतले दक्षिण एसियामा भारतको प्रभुत्व घट्दै गएको भनि गरिएको विश्लेषणले वर्तमान बंगलादेशी सरकार र नेपाल सरकार भारतको अनुकुलमा नभएको भारतीय नेतृत्वको बुझाईका कारण भारत नेपाल तथा बंगलादेशमा सरकार परिवर्तनको अनवरत प्रयासमा रहिरहने प्रष्ट देखिन्छ । नेपालमा वर्तमान सरकार गठनप्रति भारत शुरुवात देखि नै सशकित रहेको द्रष्टव्य के.पी. शर्मा ओलीलाई भारत भ्रमणको निम्तो नपठाएर भारत सरकारले खुला रुपमा नै प्रस्तुत गरिरहेको अवस्थामा आफ्नो जासुसी संस्था ’रअ’ प्रयोग गरी सरकार परिवर्तनको प्रपंच रच्ने कार्यमा लाग्नु नेपालको लागि कुनै नौलो यथार्थ होईन । जब देशको आन्तरिक राजनीति अस्थिर रहन्छ तथा आन्तरिक राजनैतिक दल एवं नेतृत्व कमजोर रहन्छन् तबमात्र वैदेशिक एवं बाह्य प्रभाव/हस्तक्षेप अवश्यमभावी रहन्छन् ।

वर्तमान अवस्थामा वाह्य प्रभाव पार्न भारत हुदैसम्म प्रयत्नरत भएतापनि पूर्व ’रअ’ एजेण्टले अनुमान गरेको समयसिमा भित्र र तत् पश्चात समेत के.पी.ओली नेतृत्वको सरकार विघटन हुने संभावना अति नै न्यून छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रचण्ड की नातिनीको शुभ विवाहको उपलक्ष्यमा व्यक्त शुभकामना आर्शिवाद तथा माओवादी कार्ड ९ःबयष्कत ऋबचम० प्रयोग गरी वर्तमान सरकार विघटन गर्ने योजना तबसम्म संभव हुँदैन जबसम्म नेपाली कांग्रेसले वर्तमान सरकार छाड्दैन । नेपाली कांग्रेसको नेतृत्व वर्गलाई अहिलेको गठबन्धको विकल्प खोज्नु स्वयं नेपाली कांग्रेस कै लागि दिर्घकालीन क्षति हुने र स्थायित्वको प्रमुख मुदा उठाएर निर्माण गरिएको वर्तमान गठबन्धनको विकल्प खोज्नु र सरकार छाड्नु नेपाली कांग्रेसलाई ठुलो नैतिक संकट पर्नेछ । जसको मुल्य नेपाली कांग्रेसले भविष्यमा चुकाउनु पर्ने हुंदा नेपाली कांग्रेस वर्तमान सरकारको विघटनको कार्यमा संलग्न भई आफ्नै खुट्टामा आफै बन्चरो हान्न चाहँदैन । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले मित्रराष्ट चीनसंग भएको ‘BRI’ कार्यान्वयन फ्रेमवर्क“ सम्झौता राष्ट्रको हितमा रहेको र वर्तमान के.पी.ओली नेतृत्वको सरकाले राम्रो काम गरिरहेको उद्घोष गर्नु भएको हुंदा नेपाली कांग्रेस र ने.क.पा. एमालेको गठबन्धन भत्काउन बाह्य शक्तिले ठुलै मेहनत एवं लगानी गर्नुपर्ने र त्यसको प्रतिफल अनिश्चित रहेको हुंदा वर्तमान गठबन्धन केबल वैदेशिक शक्ति (विशेषत भारत) ले मात्र नतोडिने विश्लेषण पूर्व ’रअ’ एजेण्ट ’ लक्की विष्ट’ ले गर्न सकेको देखिदैन ।


भारतीय पूर्व ’रअ’ एजेण्ट लक्की विष्ट हाल सेवा निवृत व्यक्ति हुन् र ’रअ’ मा संलग्न छैनन् । कुनै पनि जासुसी संस्थाले संस्थागत रुपमा गर्ने खबर प्राप्ती र त्यसको विश्लेषण कुनै पनि व्यक्तिको व्यक्तिगत विश्लेषण एवं खबर प्राप्त गर्ने क्षमताको तुलना भन्दा व्यक्तिगत क्षमता सदैव कमजोर एवं अपरिपूर्ण नै हुने गर्दछ । पूर्व ’रअ’ एजेण्ट लक्की विष्ट ’रअ’ एजेण्टको रुपमा उक्त संस्थामा कार्यरत रहँदाको अवस्थामा जस्तै सेवा निवृती पश्चात उक्त संस्थाबाट खबर प्राप्त गर्न सकदैनन् र संस्थागत विश्लेषणका गोप्य सूचना एवं कागजादहरुमा उनको पहुँच हुंदैन । यदी कुनै जासुसी संस्थाले आफ्ना पूर्व एजेण्टलाई संस्थाको खबर प्राप्ति तथा गोप्य सूचनामा पहुँच प्रदान गर्दछ भने त्यस प्रकारको जासुसी संस्था निष्क्रिय अवस्थामा पुग्दछ र भारतीय जासुसी संस्था ’रअ’ एक उच्च स्तरको पेशागत क्षमता राख्ने संस्था भएका कारण पूर्व ’रअ’ एजेण्टलाई अनावश्यक पहुँच दिनु अपत्यारिलो विषय हो र तसर्थ पूर्व ’रअ’ एजेण्ट लक्की विष्टको नेपालको वर्तमान सरकारको विघटन सम्बन्धी विश्लेषण सहि सूचना र विश्लेषणको आधारमा नभएको केवल व्यक्तिगत आधारहिन सतही विचार मात्र रहेको अनुमान सजिलै लगाउन सकिन्छ ।


कनै पनि राष्ट्रको सुरक्षा एवं जासुसी संस्थामा कार्यरत अधिकारीले सेवामा रहँदाको समयमा वा सेवा निवृती पश्चात राष्ट्रको प्रतिष्ठा एवं सुरक्षासंग सरोकार राख्ने गोप्य विषयहरुको भेद नखोल्ने प्रण लिएका हुन्छन र भारतीय जासुसी संस्था ’रअ’ मा यस प्रकारको अभ्यासहरुलाई अक्षरश पालना नगर्नेमा कुनै शंका रहँदैन ।कुनै पनि सुरक्षा अधिकारी एवं जासुसी संस्थामा एजेण्टले कुनै प्रकारको जासुसी मिशनका बारेमा सुरक्षा संवेदनशीलतालाई वेवास्ता गरी मिशनको कोड नाम, स्थान र उद्देश्य कुनै पनि पुस्तक एवं संचार माध्यमबाट प्रकाशन प्रसारण गर्नु पेशागत धर्मको विपरित कार्य हुने र अन्तरवार्ताको दौरान पूर्व ’रअ’ एजेण्ट लक्की विष्टले उजागर गरेका कतिपय मिशनहरुले राष्ट्रिय सुरक्षा एवं उनकै व्यक्तिगत सुरक्षामा समेत गम्भिर असर पर्ने देखिन्छ ।यसको मतलब यो होईन की कुनै पनि सुरक्षा संस्था एवं जासुसी संस्थामा संलग्न भएका व्यक्तिहरुले कुनै पुस्तक प्रकाशन गर्नु अथवा अन्तरवार्तामा दिनु नै होईन की आफ्नो वक्तत्वले राष्ट्रिय एवं व्यक्तिगत सुरक्षामा कस्तो प्रभाव पर्दछ पूर्ण सुचेत हुनु पर्छ । यस सन्दर्भमा आफुलाई अति नै सफल ठान्ने पूर्व ’रअ’ एजेण्ट लक्की विष्टको आवश्यक विचार नपुगेको समेत प्रष्ट हुन्छ ।


भारतीय सुरक्षा संस्था एवं जासुसी संस्थाको सेवाबाट सेवा निवृत भए पश्चात पूर्व ’रअ’ एजेण्ट लक्की विष्ट भारतीय सिनेमा उद्योगमा लेखन तथा निर्माण क्षेत्रमा कार्यरत छन् । सिनेमा उद्योग विशेषत एक प्रकारको प्रर्दशनी व्यापार हो र व्यापारमा गरिएको लगानी प्रतिफल प्राप्त गर्न लगानीकर्ताले र कथा बस्तुलाई चर्चित बनाउन लेखकले आफ्नो पूर्व जासुसी सेवाको रोमान्चक कथा प्रस्तुत गर्न वर्तमान भौतिकबादी एवं पुँजीबादी व्यवस्थामा अनौठो होईन । पूर्व ’रअ’ एजेण्ट लक्की विष्टले अन्तरवार्तामा व्यक्त गरेका उनी सहभागी जासुसी अपरेशनहरु रोमान्चक छन– हिन्दी सिनेमा जस्तै । सिनेमाको रोमाचकताबाट बाहिर निस्किर वास्तविक एवं यर्थाथपरक खबरहरुमा आधारहित नभई नेपालको के.पी. ओली नेतृत्वको सरकार एक महिनामा विघटन हुन्छ भन्ने कपोलकल्पित विचार व्यक्त गर्नु पूर्व ’रअ’ एजेण्ट लक्की विष्टको आधारहिन सतही अनुमान मात्र हो जसलाई विश्वास गर्ने कुनै आधार छैन ।

(लेखक भट्टराई त्रिभूवन विश्वबिद्यालय रत्नराज्यलक्ष्मी क्याम्पसमा अध्यापनरत छन् ।)