समाचार

आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१औँ जन्मजयन्ती

८ पुस, काठमाडौँ । नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको १०१औँ जन्मजयन्ती हो । नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रमका साथ सन्तनेताको स्मरण गर्दै छन् ।

विसं २०४७ मा अन्तरिम सरकारका प्रधानमन्त्री बनेका भट्टराई २०४८ मा प्रधानमन्त्री निवासबाट एउटा टयाङ्का, सुराही र छाता लिएर कुपण्डोल डेरामा फर्केका थिए ।

विश्वका कुनै पनि देशका राजनीतिज्ञले प्रधानमन्त्री हुँदा मेरो लक्ष्य मुक्ति निर्वाण भनेनन् तर नेता भट्टराईले खुलेर आफ्नो लक्ष्य निर्वाण भनेको स्वामी आनन्द अरुण स्मरण गर्छन्। प्रधानमन्त्री भएका बेला काठमाडौँमा ओशो तपोवनको उद्घाटन किसुनजीले नै गरेको थियो । जीवनकालमा किसुनजी पटकपटक ध्यान गर्न त्यहाँ पुग्थे।

उनी किसुनजीलाई आफ्नो अडानमा टसमस नहुने नेताका रुपमा सम्झे । तत्कालीन सरकारले तयार पारेको कागजातमा हस्ताक्षर गरेर बिपी कोइराला र गणेशमान सिंह सुन्दरीजल बन्दीगृहबाट बाहिरिँदा नेता भट्टराई जेलमा नै बसेको उनको स्मृतिमा ताजै छ । सन्तनेताको निष्ठाको राजनीति र चट्टानी अडान उनी सधैँ सम्झे र त्यसको मुक्तकण्ठले प्रशंसा गर्छन् ।

“किसुनजी राजनीतिमा रहेर आफ्ना कमी कमजोरी नलुकाई सत्य बोल्थे, विवाह नगरे पनि म कुमार होइन जस्ता विषयले उनी सत्य र स्पष्ट बोल्ने राजनीतिज्ञका रुपमा समेत स्थापित भएको छ, अडानमै रहेर उनी भारत प्रवासमा पनि जानुभएन, नेपालमै बसेर नेपाल विद्यार्थी सङ्घको स्थापना गरे, त्यसबापत थप तीन वर्ष जेलमा बस्नुभयो”, आनन्द अरुणले भने । अहिंसावादी नेताका रुपमा चिनिने महात्मा गान्धीभन्दा पनि किसुनजी आध्यात्मिक नेताका रुपमा परिचित भएको उनको बुझाइ छ ।

किसुनजीको जन्म शताब्दी वर्षका अवसरमा गतवर्ष ‘सन्तनेता कृष्णप्रसाद भट्टराई केन्द्र’ स्थापना गरेर त्यसका अध्यक्ष लोकेश ढकालले निष्ठाको राजनीति र देशको विकासमा उनले गर्नुभएको योगदानको प्रचार थालेका छन् ।

“किसुनजी आफैँले स्थापना गरेको पार्टी आफैँ आँसु झारेर किन छोडेर हिँड्े यसको खोजी गरेपछि नै उनीप्रति सच्चा सम्मान हुनेछ, उनले पार्टी छोड्ेन्,आदर्श छोड्ेन्, उनीप्रतिको सम्मानका लागि केन्द्र स्थापना गरिएको हो”, अध्यक्ष ढकालले भने ।

प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनमा किसुनजीसँगसँगै भई सक्रिय रहँदै आएका वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल पद र पैसाका लागि लोभ नभएको राजनीतिज्ञका रुपमा आफूले चिनेको उनले बताए ।