१० पुस, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पत्रकारको पेसागत हकहितको संरक्षणमा जोड दिएको छन् । आज सञ्चारिका समूहले यहाँ आयोजना गरेको नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले पत्रकारको पेसागत सुरक्षामा चुनौती रहेकाले महासङ्घले यी समस्या समाधान गर्नुपर्ने बताए ।
“महासङ्घले पहिलो पटक महिला नेतृत्व पाउनु गर्वको कुरा हो, अब महासङ्घले पत्रकारिता क्षेत्रमा देखिएका समस्या समाधानका लागि पहल गर्न आवश्यक छ,” उनले भने, “मुलुकमा भ्रष्टचार नियन्त्रण, सुशासन तथा मुलुककै राजनीतिक व्यवस्था परिवर्तन गर्न पत्रकारिता क्षेत्रको भूमिका महत्त्वपूर्ण छ ।”
श्रमजीवी पत्रकारहरुले समयमा पारिश्रमिक नपाएकोलगायतका समस्या देखिएकाले राज्यले सञ्चार जगतका समस्या सम्बोधनका लागि पहल गर्न आवश्यक रहेकामा उनले जोड दिए ।
यसैगरी राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले सञ्चार जगतमा महिला सहभागिता बढाउन आवश्यक रहेकामा जोड दिए ।
महासङ्घका नवनिर्वाचित अध्यक्ष निर्मला शर्माले पत्रकार महासङ्घको गरिमा जोगाउन सबैको साथ आवश्यक रहेको बताए । “हामी सबैजाना एकजुट भएर प्रेस स्वातन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको पक्ष लड्नुपर्छ । पछिल्लो समय सङ्कटमा रहेका मिडियाका समस्या समाधानमा बहस हुनुपर्छ,” उनले भने, “यसैगरी पत्रकारको क्षमता अभिवृद्धिका लागि लगानी बढाउन आवश्यक छ ।”