१२ पुस, काठमाडौँ । नेपाली चलचित्र सफल हुनुको महत्वपूर्ण कारण गीतसङ्गीत पनि मानिन्छ । राम्रो गीतले दर्शकलाई चलचित्र भवनसम्म ल्याउँछ भन्नेहरु पनि छन् । त्यति मात्रै होइन, चलचित्रको प्रचारप्रसारकै लागि पनि गीत प्रभावकारी मानिन्छन् ।
पछिल्लो समय भिडियो शेयरिङ साइट टिकटक र फेसबुकको रिल्स गीत दर्शकसम्म पु¥याउने र चलचित्रको प्रचारप्रसारका लागि गतिलो माध्यम बनेका छन् ।
‘प्रेम गीत’, ‘नाई नभन्नु ल’, ‘म यस्तो गीत गाउँछु’ लगायत चलचित्रलाई सफल बनाउन गीतसङ्गीतको भूमिका महत्वपूर्ण मानिन्छ । यस वर्ष मात्र सफल भएका चलचित्रहरू ‘बोक्सीको घर’ मा समावेश ‘बुझिनँ मैले’, ‘पूर्णबहादुरको सारङ्गी’ मा समावेश ‘काधे खुकुरी’ गीतलाई प्रचारप्रसारको सशक्त माध्यम मानियो । यद्यपि केही समययता गीतसङ्गीतमा उल्लेख्य लगानी भएको पाइँदैन ।
गीतसङ्गीतमा गरिने लगानी अझै बढ्नुपर्ने सङ्गीतकार अर्जुन पोखरेलको बुझाइ छ । उन् िभन्छन्, “चलचित्रमा हुने गीतसङ्गीत जति सुन्दर भयो त्यति नै चर्चा हुन्छ । किनकि यो सुन्नेसँगै हेर्न पनि आकर्षक हुनुपर्छ । गीत अनुसारको दृश्य हुनु जरुरी छ ।”
निर्देशक पुर्नेन्दु झाले चलचित्रको पहिलो प्रचार नै गीतमार्फत हुने बताए । उनले नेपालसँगै भारतीय चलचित्रलाई प्रचार गरिदिने बलियो माध्यम गीतसङ्गीत रहेकामा जोड दिए ।
“चलचित्रको प्रचारप्रसार सुरु नै गीतमार्फत गर्ने प्रचलन छ । किनकि यसले पहिलो प्रभाव पार्छ । त्यसपछि अन्य ट्रेलरलगायत सामग्री सार्वजनिक गर्ने गरेका छौँ”, निर्देशक झाले भने ।
उनले आफू निर्देशित पहिलो चलचित्र ‘संरक्षण’को गीतका लागि होलीको माहोल सिर्जना गरेको थिए । उक्त गीतले नै दर्शकसम्म चलचित्रबारे पहिलो जानकारी पु¥याउन सफल भएको उनको विश्वास छ ।