कर्णाली प्रदेश

पिलीमा ‘युद्ध सङ्ग्रहालय’ निर्माण गरिँदै

१८ पुस, कालीकोट । जिल्लाको खाँडाचक्र नगरपालिका–७ को पिलीमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘युद्ध सङ्ग्रहालय’ निर्माण गर्न थालिएको छ । भौगोलिक रूपमा विकट मानिने कालीकोटको पर्यटन प्रवर्द्धनका लागि युद्ध सङ्ग्रहालय निर्माणदेखि द्वन्द्वका बेलाको स्मरण गर्न स्मारक निर्माण थालिएको हो ।

कालीकोट १० वर्षे सशस्त्र द्वन्द्वकालको समयमा अत्यन्त्यै प्रभावित जिल्ला भएकाले सो समयमा जिल्लावासीले कयौँ सास्ती भोग्नुपरेको थियो । द्वन्द्वकालमा भएका ठूला युद्धमध्येको कालीकोटको पिलीमा पनि भएको थियो । सोही स्थानमा कर्णाली प्रदेश सरकारको लगानीमा तीव्र गतिमा युद्ध सङ्ग्रहालय निर्माण भइरहेको छ ।

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ देखि बर्सेनि बजेट विनियोजन गरेर प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत डिभिजन वन कार्यालय कालीकोटले युद्ध सङ्ग्रहालय निर्माणलाई निरन्तरता दिइरहेको खाँडाचक्र नगरपालिकाका प्रमुख कमलबहादुर शाहीले बताए । आन्तरिक तथा बाह्य पर्यटकलाई अध्ययन तथा अनुसन्धानको केन्द्र बनाउँदै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँ सङ्ग्रहालय निर्माण थालिएको उनले उल्लेख गरे ।

“नगरपालिकाले पनि सङ्ग्रहालय निर्माणमा सहयोग गरिरहेको छ”, नगरप्रमुख शाहीले भने, “प्रदेश सरकारको लगानीमा सङ्ग्रहालय बनिरहेको छ, यसले आन्तरिक आम्दानी वृद्धि हुने, युद्ध भएको स्थानबारे प्रचारप्रसार भई पर्यटक आगमन बढ्ने र द्धन्द्धकालका बारेमा अध्ययन, अनुसन्धान गर्न चाहनेका लागि उत्कृष्ट गन्तव्य हुने विश्वास लिएका छौँ ।”

द्वन्द्वको बेला तत्कालीन शाही सेना र माओवादी सेनाको अन्तिम भिडन्त भएको ठाउँ पिलीलाई युद्ध पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न स्थानीय, स्थानीय सरकार र प्रदेश सरकारले पहल गरिरहेको उहाँको भनाइ छ ।

“विसं २०६२ साउन २३ गते विद्रोही र तत्कालीन शाहीबीच दोहोरो भिडन्त हुँदा एक सय तीन जनाको ज्यान गएको पिली गाउँलाई युद्ध पर्यटकीयस्थलका रूपमा विकास गर्ने लक्ष्य गाउँले लिएको छ”, स्थानीय मानबहादुर मल्लले भने । सो समयमा सबैभन्दा बढी मानवीय क्षति भएकाले यसलाई युद्ध पर्यटन क्षेत्रका रूपमा विकास गर्न खोजिएको उनले उल्लेख गरे ।

कर्णाली राजमार्ग हुँदै जुम्ला र मुगुको राराताल जाने बीच बाटोमा पर्ने भएकाले यहाँ पर्यटकको आगमन बढाउन सकिने भन्दै यो ठाउँ द्धन्द्धकालका बारेमा अध्ययन, अनुसन्धान गर्न चाहनेका लागि महत्वपूर्ण हुनसक्ने स्थानीय रामबहादुर कार्कीले विचार राखे ।

“द्धन्द्धका कारण राष्ट्रिय र अन्तर्राष्ट्रिय चर्चामा रहेको पिलीलाई सधैँभर जीवन्त राख्ने, युद्धको अवशेषहरू देखाउने र पर्यटनका माध्यमबाट स्थानीयको जीवनस्तर उकास्ने उद्देश्यले पर्यटकीय गाउँका रूपमा विकास गर्न थालेकान हौँ”, उनले भने, “युद्ध पर्यटकीयस्थल र लडाइँ भएका ठाउँमा भग्नाअवशेष र लडाइँमा प्रयोग भएका बङ्करको संरक्षण गर्ने तयारी थालिएको छ । लडाइँ प्रयोग भएका हतियारसमेत सङ्कलन गर्ने तयारी छ ।”

आव २०७६/७७ मा रु एक करोड ५० लाख बजेट विनियोजन भएकामा सो रकमबाट घरबास होमस्टे सहित तीन वटा भवन, करिब सात सय मिटर रेलिङसहितको सिँढी निर्माण भएका खाँडाचक्र नगरपालिकाका प्रमुख शाहीले जानकारी दिए ।

“त्यसअघि र पछि गरेर रु तीन करोड खर्च भइसके पनि नयाँ बन्ने संरचनाको काम सुरु भएको छैन । पिलीका लागि सङ्घीय संरचना नबन्दै तत्कालीन दाँहा गाविस, जिल्ला विकास समिति कालीकोट, नागरिक तथा पर्यटन उड्डयन मन्त्रालयलगायत निकायको समन्वयमा ती संरचना निर्माण भएका हुन् । कोभिड–१९ पछि भने बजेट विनियोजन भएको थिएन”, उनले भने।