अन्तर्राष्ट्रिय

भारतीय प्रेस वाचडगद्वारा पत्रकारको हत्याको अनुसन्धानको माग

२१ पुस, नयाँदिल्ली । कङ्क्रिटले ढाकिएको सेप्टिक ट्याङ्कीमा एक पत्रकारको क्षत–विक्षत शव फेला परेपछि भारतको मिडिया वाचडगले विस्तृत अनुसन्धानको माग गरेको छ ।

अठ्ठाइस वर्षीय स्वतन्त्र पत्रकार मुकेश चन्द्राकरले भारतको मध्य छत्तीसगढ राज्यमा भ्रष्टाचार र दशकौँ पुरानो माओवादी विद्रोहबारे व्यापक रूपमा रिपोर्टिङ गरेका थिए र लोकप्रिय युट्युब च्यानल ‘बस्तर जङ्क्सन’ सञ्चालन गर्दै आएका थिए ।

भारतीय प्रेस काउन्सिलले चन्द्राकरको सन्दिग्ध हत्यामा ‘चिन्ता’ व्यक्त गर्दै शनिबार राति एक विज्ञप्तिमा ‘घटनाको तथ्य’ मा प्रतिवेदन माग गरेको छ ।

चन्द्राकर बेपत्ता भएको उनको परिवारले रिपोर्ट गरेपछि प्रहरीले उनको मोबाइल फोन रेकर्ड ट्र्याक गरेपछि जनवरी ३ मा उनको शव फेला परेको थियो । तीन जनालाई पक्राउ गरिएको छ ।

भारतका स्रोत–सम्पन्न मध्य क्षेत्रहरूमा सीमान्तकृत आदिवासीहरूको अधिकारका लागि लडिरहेको भन्दै नक्सलवादी विद्रोहीहरूले दशकौँदेखि चलाएको विद्रोहमा १० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।

सत्तारूढ भारतीय जनता पार्टी भाजपाका छत्तीसगढका मुख्यमन्त्री विष्णु देव साईले चन्द्राकरको मृत्युलाई ‘हृदयविदारक’ भन्दै जिम्मेवारहरूलाई ‘कडाभन्दा कडा सजाय’ दिने प्रतिज्ञा गरेका छन्।

रिपोर्टर्स विदाउट बोर्डर्सद्वारा सञ्चालित विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कमा भारत गत वर्ष १५९औँ स्थानमा रहेको थियो ।