अन्तर्राष्ट्रिय

हिजबुल्लाहले युद्धविरामका सर्तहरू पूरा गरेन– इजरायल

२१ पुस, जेरुसेलम । इजरायली रक्षामन्त्री इजरायल काट्जले आइतबार लेबनानी समूह हिजबुल्लाहलाई युद्धविरामका सर्तहरू पूरा नगरेको आरोप लगाएका छन् । उनले लडाकूहरूले सम्झौता उल्लङ्घन गरिरहे भने इजरायल ‘कारबाही गर्न बाध्य हुने’ चेतावनी दिए ।

काट्जले सेनाको उत्तरी कमान्डको भ्रमण गरेपछि यस्तो चेतावनी दिएका हुन् । हिजबुल्लाह प्रमुख नइम कासिमले शनिबार इजरायलविरुद्ध यस्तै आरोप लगाएपछि यस्तो चेतावनी आएको हो ।

काट्जले युद्धविराम सम्झौतामा उल्लेख गरिएअनुसार हिजबुल्लाहले अझै पनि दक्षिणी लेबनानमा ‘लिटानी नदीपारि’ फिर्ता नभएको बताए ।

“यदि यो शर्त पूरा भएन भने कुनै सम्झौता हुनेछैन र इजरायल उत्तरका बासिन्दाहरूको सुरक्षित घर फिर्तीको सुनिश्चितताका लागि आफैँ कारबाही गर्न बाध्य हुनेछ”, उनले भने ।

“अन्य प्रावधानहरू कार्यान्वयन गरिएका छैनन्, जस्तै सबै हेजबुल्लाह हतियारहरू ध्वस्त पार्नु र लेबनानी सेनाले यस क्षेत्रमा आतङ्कवादी पूर्वाधारहरूलाई विफल पार्नु”, काट्जले आफ्नो कार्यालयबाट जारी विज्ञप्तिमा भने, “हामी उत्तरी समुदाय र इजरायल राज्यका नागरिकहरूका लागि नयाँ खतरा सिर्जना गर्न दिनेछैनौँ” ।

कासिमले शनिबार इजरायलमाथि युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै समूह दक्षिणी लेबनानबाट इजरायललाई हट्नका लागि दिइएको ६० दिने समयसीमा समाप्त हुनुअघि नै जवाफी कारबाही गर्न तयार रहेको बताएका थिए ।