२३ पुस, बेइजिङ । चीनको सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा गएको विनाशकारी भूकम्पमा परी कम्तीमा ५३ जनाको मृत्यु भएको छ भने ६२ जना घाइते भएका छन् ।
“सिजाङ तिब्बत स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान ९ः०५ बजे गएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी मङ्गलबार दिउँसो ५३ जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य ६२ जना घाइते भएका छन्,” सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ ।
चाइना भूकम्प नेटवर्क सेन्टरले भूकम्पको केन्द्र २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री ई देशान्तरमा रहेको बताएको छ ।
हाल चिनियाँ सेनाले भूकम्पको केन्द्रबिन्दुमा स्थितिको आकलन गर्न ड्रोन तैनाथ गरेको छ ।
यसैबीच, राष्ट्रिय भूकम्प विज्ञान केन्द्र एनसीएसले मङ्गलबार तिब्बत स्वायत्त क्षेत्रको सिजाङमा भूकम्पको धक्का महसुस गरेको जनाएको छ ।