२४ पुस, नेपालगञ्ज । पछिल्लो केही दिनयता शीतलहरका कारण चिसो बढेपछि यहाँको जनजीवन प्रभावित बनेको छ । जनजीवन सामान्य बनाउन स्थानीय प्रशासनले पालिकालाई जिम्मेवारी तोक्दै सुरक्षा निकायलाई उच्च सर्तकता अपनाउन निर्देशन समेत दिएको छ ।
चिसोका कारण स्वास्थ्यमा असर पर्ने सम्भावना बढेकाले बालबालिका, वृद्धवृद्धा र शारीरिक रूपमा कमजोर व्यक्तिहरूलाई विशेष ख्याल गर्न चिकित्सकहरूले आग्रह गरेका छन् । चिसोका कारण श्वासप्रश्वासको समस्या बढ्ने भएकाले ज्येष्ठ नागरिक र बालबालिकालाई घर बाहिर ननिस्कन चिकित्सकहरुले सुझाब दिएका छन् ।
शीतलहरको मारमा सबैभन्दा बढी विपन्न वर्ग परेका छन् । रिक्सा चालक, मजदुर, दैनिक ज्यालादारीमा काम गर्ने श्रमिक एवं बालबालिका तथा वृद्धहरू शीतलहरबाट बढी प्रभावित भएका छन् । चिसो तथा शीतलहर बढ्दै जादा अस्पतालमा बिरामीको चाप पनि बढ्दै गएको छ । यसैले गर्दा सर्तकता अपनाउन निकायहरुले आग्रह गरेका छन् ।