२९ पुस, भोजपुर । च्याङग्रे पोखरी र पञ्चकन्या देवस्थलको संरक्षण काम अन्तिम चरणमा पुगेको छ । पौवादुङमा गाउँपालिका केन्द्रको प्रमुख सौन्दर्यका रुपमा रहेको च्याङ्ग्रे पोखरी र पञ्चकन्या देवस्थल संरक्षणको काम लगभग सम्पन्न हुने अवस्थामा पुगेको हो ।
सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लागत साझेदारीमा रु दुई करोडभन्दा बढी लागतमा पोखरी संरक्षण भइरहेको छ । गाउँपालिकाले पोखरी तथा मन्दिर आसपासमा रहेका बस्तीलाई हटाएर पोखरीको संरक्षण गरिरहेको छ । पोखरी तथा पञ्चकन्या देवस्थलको विकास तथा विस्तारका लागि गाउँपालिकाले मुआब्जा दिएर यहाँका दुईवटा घर र तीन कित्ता जग्गा अधिकरण गरेको छ ।
सम्झौताअनुसार विसं २०८२ को जेठ १४ गतेसम्ममा पूर्ण रुपमा काम सम्पन्न गर्नेगरी रु दुई करोड १३ लाख लागतमा संरक्षणको काम भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । पोखरी निर्माणको वित्तीय प्रगति ६५ प्रतिशत र भौतिक प्रगति ७५ प्रतिशत रहेको प्रशासकीय अधिकृत भट्टराईले बताए । “च्याङ्ग्रे पोखरी र पञ्चकन्या देवस्थलको संरक्षण भइरहेको छ,” प्रशासकीय अधिकृत भट्टराईले भने, “हालसम्म यहाँको ७५ प्रतिशत काम सम्पन्न भएको छ । आगामी जेठ महिनासम्म काम सक्नुपर्ने सम्झौता रहेको छ । तोकिएको समय अवधिमा सम्पन्न गराउने लक्ष्यका साथ काम अघि बढाएका छौँ ।” केन्द्र सरकारबाट आउने बजेट समयमा नआउँदा काममा ढिलाइ हुने गरेको उनको भनाइ छ ।
संरक्षण भइरहेको पोखरीलाई पर्खालले घेर्ने, मन्दिर निर्माण गर्ने, पोखरी वरिपरि बगैँचा निर्माण गर्ने, शौचालय, विश्रामस्थल, बालबालिका र ज्यष्ठ नागरिकका लागि पार्क बनाउने र पोखरीमा ‘बोटिङ’ गर्न सक्नेगरी संरचना निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ ।
पोखरीको बृहत्तर विकासका लागि गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार गरेर थप विकास तथा संरक्षणको गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । पोखरीको मौलिकतालाई यथावत् राख्दै आधुनिक प्रविधिको प्रयोग गरेर विकासको काम भइरहेको अध्यक्ष राईको भनाइ छ । पालिका केन्द्रको मुख्य पर्यटकीय क्षेत्र रहेकाले यसलाई प्राथमिकतामा राखेर विकासको काम भइरहेको उनको भनाइ छ । “गाउँपालिकाको पर्यटकीय क्षेत्रको विकासमा योजनाबद्ध रूपमा लागेका छौँ,” अध्यक्ष राईले भने, “यहाँका सम्पूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रको डिपिआर बनाइसकेका छौँ । च्याङ्ग्रे पोखरी र पञ्चकञ्या देवस्थलको संरक्षण गरिरहेका छौँ । तर स्थानीय सरकारलाई आएको बजेटबाट सवै काम गर्न निकै समस्या छ । यो स्थानलाई स्थापित पर्यटकीय क्षेत्र बनाउने हाम्रो लक्ष्य छ ।”