१ माघ, भक्तपुर । जिल्लाका १७ हजार छ सय ९१ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ एचपिभी खोप लगाइने भएको छ ।
यही माघ २२ देखि आगामी फागुन ६ गतेसम्म देशभर सरकारले सुरु गर्न लागेको खोप अभियानअन्तर्गत भक्तपुरमा १० दखि १४ वर्ष उमेर समूहका किशारीको पहिचान गरी एचपिभी खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख शान्तिराम खतिवडाले जानकारी दिए ।
भक्तपुरका चार नगरपालिकामध्ये सूर्यविनायक नगरपालिकाका चार हजार एक सय ६२, भक्तपुर नगरपालिकाका छ हजार सात सय ४२, मध्यपुरथिमि नगरपालिकाका चार हजार दुई सय तीन र चाँगुनारायण नगरपालिकाका दुई हजार पाँच सय ८४ किशोरीलाई एचपिभी खोप लगाइने उनले जानकारी दिए । उनका अनुसार कक्षा ६ देखि १० सम्मका १६ हजार छ सय २८ र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका एक हजार ६३ किशोरीलाई खोप लगाइने छ ।
कार्यालयले खोप लगाउन खोप केन्द्र र जनशक्तिको विभाजन एवं तालिकासमेत सार्वजनिक गरेको छ । जसमध्ये सूर्यविनायकमा ६५ विद्यालय र ११ अन्य, भक्तपुर नपामा ७४ विद्यालय र छ अन्य, मध्यपुरथिमि नपामा ५६ विद्यालय र १० अन्य तथा चाँगुनारायण नपामा ४८ विद्यालय र १९ अन्य स्थान गरी कुल दुई सय ४३ विद्यालय र ४६ अन्य ठाउँमा खोप केन्द्र निर्धारण गरिएको छ ।
खोप अभियानलाई सफल पार्न कुल दुई सय ८९ स्वास्थ्यकर्मी र पाँच सय ७० स्वयंसेवक परिचालन गरिने भएको छ । कार्यालय प्रमुख खतिवडाका अनुसार जिल्लाका चारवटै स्थानीय तहसँग समन्वयात्मक कार्यक्रम गरी स्थानीय स्वयंसेवकलाई तालिम दिइ सकिएको छ । खोप लगाउँदा कसैलाई स्वास्थ्यमा कुनै समस्या नआउने दाबी गर्दै उनले समस्या आइहालेमा उपचारका लागि भक्तपुर अस्पताल, ख्वप अस्पताल, सूर्यविनायक नगर अस्पताल, चाँगुनारायण नगर अस्पताल र नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा उपचार गरिने जानकारी दिए ।
सरकारले देशभरिका कक्षा ६ देखि १० सम्मका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरीलाई लक्षित गरी विश्व क्यान्सर दिवस फेब्रुअरी ४ को सन्दर्भ पारेर एचपिभी खोप अभियान सञ्चालन गर्न लागेको हो ।
यो खोप लगाएपछि ९० देखि ९५ प्रतिशतसम्म पाठेघरको मुखको क्यान्सरबाट सुरक्षा प्रदान गर्ने बताइन्छ । महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर नेपालमा पहिलो स्थानमा छभने स्तन क्यान्सर दोस्रोमा पर्छ ।
भक्तपुर जिल्लामा खोप अभियानलाई सफल बनाउन स्थानीय तह र अन्य निकायसँग समन्वय भइरहेको छ । जिल्ला समन्वय समितिका सभापति ईश्वरबहादुर थापा, प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याललगायतले अभियान सफल बनाउन आह्वान गरेका छन् ।