४ माघ, काठमाडौँ । सङ्घीय संसद्मा विचाराधीन विधेयकमा साझा अवधारणा बनाएर अगाडि बढाउने सहमति भएको छ । प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतकबीच आज भएको छलफलमा त्यस्तो सहमति भएको हो ।
सिंहदरबारस्थित नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय दलको कार्यालयमा भएको छलफलमा विचाराधीन विधेयकमा साझा अवधारणा बनाएर अगाडि बढाउने सहमति भएकोे नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए । उनले विधेयकहरुलाई कसरी अगाडि बढाउने र चाँडो पारित गराउने भन्ने विषयमा छलफल भएको बताए ।
संसद्लाई प्रभावकारी बनाउने र संसदीय क प्रक्रियामा साझा धारणा बनाएर अगाडि बढ्ने निष्कर्ष बैठकले निकालेको एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलाले बताए ।
बैठकमा संसद्को विषयगत समितिमा रहेका विधेयकलाई सत्तापक्ष र विपक्षी दलको साझा धारणा बनाएर चाँडो टुङ्ग्याउने विषयमा पनि नेताहरुबीच कुराकानी भएको थियो । बैठकमा कांग्रेसका प्रमुख सचेतक घिमिरे, एमालेका प्रमुख सचेतक बर्तौला, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सन्तोष परियार सहभागी थिए ।