सुदूरपश्चिम

आन्तरिक स्रोत साधन परिचालन गरी ४५ किलोमिटर सडक स्तरोन्नति हुँदै

१० माघ, कञ्चनपुर । कृष्णपुर नगरपालिकाले चालु आर्थिक वर्षमा ४५ किलोमिटर सडक स्तरोन्नति गर्ने भएको छ ।

नगरपालिकाका नौवटै वडामा पाँच÷पाँच किलोमिटरका दरले सडक स्तरोन्नति गर्न थालेको हो । पहिलोचरणमा वडा नं. ४ को मालुवेलाबाट काम सुरु भएको छ । नगरपालिकामा उपलब्ध टिपर, लोडर, ट्र्याक्टर, रोलर प्रयोग गरी सडक स्तरोन्नति प्रारम्भ भएको नगर प्रमुख हेमराज ओझाले बताए ।

सडक स्तरोन्नतिका लागि ५० लाख बजेट विनियोजन भएको छ । “उपभोक्ता समितिमार्फत एक किलोमिटर सडक स्तरोन्नति गर्न १० लाख खर्च हुने देखियो”, नगर प्रमुख ओझाले भने । नगरपालिकाले आफ्नै साधन स्रोत प्रयोग गरी सडक स्तरोन्नति गर्दा नगरवासीले अपनत्व ग्रहण गरेका छन् ।

गत वर्ष नगरपालिकाले २५ किलोमिटर सडक स्तरोन्नतिको गरेको थियो । चालु आवमा सङ्घ र प्रदेश सरकारबाट प्राप्त १२ करोडको लागत साझेदारीमा नगरपालिका क्षेत्रमा सडक कालोपत्र भइरहेको छ ।